मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चन्द्र शमशेरदेखि ओली–प्रचण्डसम्मको प्यारो काली मार्सी चामल
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । जनताको स्वास्थ्य सेवामा कुनै प्रकारको सम्झौता नगरियोस् र जनताका सन्तानलाई डाक्टरी पढ्न धेरै खर्च गर्नु नपरोस् भनेर पन्ध्रौं पल्टसम्म सत्याग्रहमा बसेका डा. गोविन्द केसीको विरोधमा एक व्यापारीले मार्सी चामलको भात खुवाएर कम्युनिष्ट नेतालाई पुँजिपति दलालको समर्थनमा पुर्याएको प्रतिपक्षी दलले आरोप लगाएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई घरमा बोलाएर व्यवसायी दुर्गा प्रसाईँले आफ्नो घरमा काली मार्सीको भात खुवाएका थिए ।

    परतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले पनि यो विषय उठाएपछि थप चर्चामा आएको छ ।

    “मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस् । जनताका छोराछोरीले निःशुल्क चिकित्सा शिक्षा पाउन् । वा सस्तोमा पढ्न पाउन् । गाउँ गाउँमा स्वास्थ्य सेवा खुलोस् भनेर माग राख्ने डा. गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने, दुईवटा कम्युनिष्ट पार्टी एक भएको उपलक्ष्यमा कम्युनिष्ट पार्टीका महान अध्यक्षद्वयलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी चामलको भात खुवाउने कम्युनिष्ट परिभाषा अनुसारको दलाल, पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षा विधेयक ल्याइयो प्रधानमन्त्रीजीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ,” प्रतिनिधिसभाको बैठकमा सांसद थापाले राखेका धारणापछि काली मार्सी चामलले अहिले एकाएक सबैको ध्यान आकृष्ट भएको छ ।

    के हो त मार्सी चामल ? 

    नेपालमा मार्सीको धान कहिले भित्रियो भन्नेबारेमा स्पष्ट इतिहास नभए पनि जुम्लामा पहिलोपटक चन्दननाथ बाबाले भित्र्याएको बताइन्छ ।

    तर चन्दननाथ बाबाले कहिले यो धान भित्र्याए भन्ने एकिन छैन । १४ औं शताब्दीभन्दा पहिले हुन सक्ने अनुमान गरिन्छ । कतिपयले १२ औं शताब्दीमा नेपालमा भित्रिएको बताउँछन् ।

    “यो कहिले भित्रियो भन्नेबारेमा त हामीलाई पनि जानकारी छैन । जम्मु काश्मिरबाट गुरु महाराज (चन्दननाथ बाबा) ले ल्याएको हो भनेर हाम्रा बाउबाजेले भन्थे,” जुम्लाका ७६ वर्षिय मनसा पाण्डेले टेलिफोनमा बाह्रखरीसँग भने, “गुरु महाराजले ल्याएको भनेर अहिले पनि हामीले वर्षको एकपाथी काली मार्सीको चामल गुरु महाराजलाई दिन्छौं (चढाउछौं) ।”

    नेपाललाई विश्वमा चिनाउनेमध्ये एक धान पनि भएकाले नेपालमा धानको इतिहास निकै पुरानो भएको धानविज्ञ भोलामानसिँह बस्नेत बताउँछन् । “वास्तवमा नेपाललाई धानले पनि विश्वमा चिनाउँछ,” बस्नेतले भने, “चन्दननाथ बाबाले भारतको कास्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास छ तर कहिले भन्ने पाइँदैन ।”

    जुम्ला समुद्री सतहदेखि १० हजार फिटसम्मको उचाइमा छ । जहाँ माइनस ४ डिग्रीसम्म तापक्रम हुन्छ । यो कालीमार्सी धान पनि त्यस्तै चिसो ठाउँमा प्रशस्त फल्ने धानका रुपमा चिनिन्छ ।

    “चन्दननाथ बाबाले काश्मिरबाट ल्याएर सुरु गर्नुभयो, पछि जुम्लामा पनि मरुवा रोग लाग्यो,” बस्नेतले बाह्रखरीसँग कालीमार्सी धानको इतिहास कोट्याउँदै भने, “मरुवा रोग लागेपछि यसलाई मर्न दिनुहुँदैन भनेर कृषि अनुसन्धान परिषदले अनुसन्धान गर्यो । पछि चन्दननाथ (१) र चन्दननाथ (३) भन्ने जात सिफारिस गर्यो । अहिले फल्ने धान यिनै हुन् ।”

    त्यसबाहेक काठमाडौं अर्थात मध्ये पहाडका केही जिल्लामा मार्सी धान लगाउने गरिए पनि जुम्लामा जस्तो नफलेको उनको भनाई छ ।

    राजामहाराजालाई पहिलेदेखि नै पठाइन्थ्यो 

    जुम्लाका मनसा पाण्डे (७६) का अनुसार उनी सानो हुँदादेखि नै एकपाथी चामल गुरु महाराजलाई भनेर चढाइन्थ्यो । त्यो प्रचलन अहिले पनि कायमै छ । त्यो पनि पहिलोपटकको चामल पुर्याउनुपर्ने प्रचलन छ चन्दननाथ बाबाको मन्दिरमा ।
    त्यसबाहेक काठमाडौंमा पनि राणा प्रधानमन्त्रीलाई जुम्लाबाटै काली मार्सीको चामल खानकै लागि भनेर ल्याउने प्रचलन थियो ।

    राणाको पालामा जग्गाको भोगचलन गरेवापत राज्यलाई बुझाउनुपर्ने तिरो पनि यहि चामल नै तिरिन्थ्यो । उक्त चामल राणा प्रधानमन्त्रीहरुको लागि काठमाडौं ल्याइन्थ्यो । धान विज्ञ बस्नेतका अनुसार काली मार्सीको भात बढी प्रोटिनयुक्त र अडिलो हुन्छ ।
    जसलाई राजा महाराजाले खाने भनेर पनि चिनिन्छ । तर पछि चन्दननाथ (१) र (३) भने काली मार्सीजस्तो भएन । “छिटो भोक लाग्ने खालको भयो, अडिलो पनि भएन,” बस्नेतले भने ।

    ब्याड राख्ने र काट्ने आफ्नै प्रचलन 

    काली मार्सीको धानको ब्याड राख्ने र काट्नै आफ्नै शैली र परम्परा नै छ ।

    प्रत्येक वर्ष चैतको १२ गते काली मार्सीको धान भिजाइन्छ । चारदिनसम्म भिजाएर राखेपछि १६ गते बाहिर निकालिन्छ । फेरि त्यसलाई चारदिनसम्म सुकाएर राखिन्छ । प्रत्येक वर्ष चैतको २० गते मात्रै चन्दननाथ बाबालाई सम्झेर (खेतमा पुजा गरेर) बिउ राखिन्छ ।
    “चैत १२ गते खला रुझाउछौं (पानीमा भिजाउँछौं, १६ गते उतार्छौं,” पाण्डेले बाह्रखरीसँग कुरा गर्दै भने,“बिहान बिहान पानी दिन्छौं । २० गते हामी छर्छौं । बिउ तयार भएपछि जेठमा रोपिहाल्छौं । असारमा हामी गोड्छौं । कात्तिकमा ढाल्छौं । १, २ दिन सुकाएर हातैले झार्छौं र घरमा ल्याउँछौं ।”

    उनका अनुसार धान काट्न विशेष दिन पारिन्छ । “बुधबार या शुक्रबार पारेर मात्रै हामीले धान काट्न सुरु गर्छौं,” पाण्डेले भने । जम्मु कश्मिरबाट बिउ ल्याएर बुटी दिएबापत प्रत्येकवर्ष गुरु महाराजलाई चढाउने गरेको उनी बताउँछन् ।
    किम्बदन्ती कस्तो पनि छ भने जुम्लामा मार्सीको धान रोप्ने बेलासम्म पनि विदेशिएको युवा नआए अब कहिले फर्केर आउँदैन भन्नेछ ।बाह्रखरी बाट

  • २५ असार २०७५, सोमबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित