जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी भएको छ । उनलाई लिनको लागि सेनाको हेलिकप्टर जुम्ला पुगेको छ । यद्यपी केसीका समर्थक, स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरु, नागरिक समाज तथा स्वास्थ्यकर्मी विरोधमा उत्रिएका छन् ।
डा. केसीलाई लिनको लागि सेनासहितको हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कर्णालीका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्री नरेश भण्डारी जुम्ला पुगेका हुन् ।
अनशनरत डा. केसीले भने आफ्नो माग पूरा नभएसम्म काठमाडौं नजाने अडान राखेका छन् । केसीलाई लिन गएको सरकारी टोली विरोधका कारण अस्पताल परीसर भित्र पस्न सकका छैनन् । केसीलाई समर्थन गर्दै सयौँको संख्यामा जुम्लाका गाउँगाउँबाट महिलाहरु थाल, भाटा लिएर जम्मा भएका छन् ।