दशैँमा प्रदर्शन हुने तयारीमा रहेको छक्का पन्जा–३ फिल्ममा समावेश पहिलो नम्बरमा बोलको गीत सोमबार सार्वजनिक गरिएको छ ।
बिन्दु परियार र डेबिड शंकरको स्वरमा रहेको गीत राजेन्द्र थापाले लेखेका हुन् भने संगीत दीपक शर्माको छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा निर्देशक दीपाश्री स्वयम्, दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत, सञ्जोग कोइराला, सुमन गिरी भान्जा, दीपिका प्रसार्इं, स्वस्तिमा खड्कालगायतका फिल्मका प्रमुख कलाकारले नृत्य गरेका छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
छक्का पन्जा र छक्का पन्जा–२ को अधिक सफलतापछि निर्माण गरिएको यो फिल्म दशैँको फूलपाती अर्थात् असोज ३० गतेदेखि प्रदर्शन हुनेछ ।
फिल्मको निर्मातामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, सुमन गिरी भान्जा, निशान बजगार्इं, किरण केसी, पुरुषोत्तम प्रधानलगायत छन् । पहिलो नम्बरमाले सोमबार रातिसम्म पौने तीन लाख भ्यु पाइसकेको छ ।