नेपाल आयल निगमले गएरातीबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्य बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको हो । पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ कायम भएको छ ।
निगमले केही सातायता अन्तराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्रा कमजोर भएकाले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लि शुन्य दशमलव ३६, डिजेलमा प्रति लि शुन्य दशमलव ४९ र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा रहने जनाएको छ । समग्रमा निगमको पाक्षिक घाटा करीब ११ करोड १५ लाख रुपैयाँ पुगेको निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । इण्डियन आयल कर्पोरेशनबाट १ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगञ्ज तर्फको सीमा मूल्यमा पेट्रोलमा प्रति लिटर २५ रुपैयाँ ७७ पैसा र डिजेल २५ रुपैयाँ ५० पैसा नेपाल तर्फ नै सस्तो रहेको निगमले जनाएको छ ।