डुडुवा बाँके, २८ असोज । बाँकेको डुडुवा गाउँपालिकाले आजदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७५।०७६ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कार्तिकसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
दशैलाई लक्षित गरि गाउँपालिकाको ६ वटै वडामा आइतबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ । जेष्ठ नागरिक, अन्य एकल महिला, अपांगता भएका व्यक्ति, दलित गरि ३ हजार १ सय जना र ५ वर्ष मुनिका दुई हजार ९ सय दलित बालबालिकालाई उक्त भत्ता वितरण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार प्रथम चौमासिकका लागि एक करोड ९० लाख १ हजार ६ सय रुपैया वडा कार्यालयमार्फत वितरण भईरहेको छ । कर्मचारीहरुले नागरिकहरुको घरदैलो मै पुगेर भत्ता वितरण गरिरहेकाले दुईदिनभित्र सकिने गाउँपालिकाले जनाएको छ ।
७० वर्ष पुगेका बृद्धलाई औषधी उपचारसहित रु दुई हजार र अन्य अन्र्तगत ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आइएको छ ।