नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन दुई रंगशालाको काम निकै सुस्त गतिमा भइरहेको छ। करिब ५० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएका बाँकेको नेपालगन्ज रंगशाला र दाङ तुलसीपुरको बेलझुन्डी रंगशालाको अहिलेसम्मको कामको प्रगति हेर्दा रंगशालाको काम निर्धारित मितिमै सम्पन्न हुने सम्भावना कम देखिएको छ।
दुई रंगशालाको काम निर्धारित मितिमा सम्पन्न नहुने हो भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि प्रभावित हुने सम्भावना देखिएको छ। आठौं राष्ट्रिय खेलकुदको उद्घाटन नेपालगन्ज रंगशाला र समापन बेलझुन्डी रंगशालामा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तयारी छ। तर, यी दुवै रंगशाला निर्माणको काम भने निर्धारित समयमै सकिने सम्भावना कम हुँदै गएको छ।
कात्तिकको दोस्रो सातासम्म नेपालगन्ज रंगशालाको मैदानमा माटो पटानको काम मात्र भएको छ। बिहीबार बिहान अन्नपूर्णकर्मी रंगशाला पुग्दा रोलर र डोजर प्रयोग भइरहेको थियो। ‘माटो पटानको काम करिब अन्तिम चरणमा पुगेको छ’, रंगशाला निर्माणस्थलमै भेटिएका प्रादेशिक खेलकुद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भीम ओलीले भने, ‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र हामी सबैको ध्यान रंगशालामै केन्द्रित छ। काम समयमै सम्पन्न गर्न हामी लागि परेका छौं। यही रंगशालाका कारण पहिलो पटक मिति सारिएको हो। अब सार्नुपर्ने अवस्था नआउला।’
ओलीले दोस्रो पटक आठौं राष्ट्रिय खेलकुदको मिति नसर्ने दाबी गरे पनि रंगशाला निर्माणको काम भने निकै सुस्तगतिमा अघि बढेको देखिन्छ। रंगशालाको मैदानमा अहिलेसम्म ६५ सेमी माटो पटानको काम मात्र भएको छ। त्यो मैदानमा १५ सेमी ग्राभेल गर्ने, थप १० सेमी माटो पटान र पाँच सेमी बरमुन्डा दूबोको चपरी हाल्ने काम थालिएकै छैन। मैदान बनिसकेको १५ दिन त दूबो जडान गर्न र पलाउन नै लाग्छ। त्यसपछि दुबो काटेर मात्र फुटबल खेलाउन सकिन्छ।
दाङ बेलझुन्डी रंगशालामा भने दूबोको बिरुवा राखिएको छ। रंगशालामा प्यारापिटको काम थालिएकै छैन। उत्तर र पश्चिममा दुईवटा प्याराफिट बनाइँदैछ। पूर्वतर्फ यसअघि नै निर्माण गरिएको प्यारापिट प्रयोग हुनेछ। उत्तरतर्फ भने तीन स्टेपको प्यारापिट बन्दैछ। पश्चिमतर्फ नौ स्टेपको भीआईपी प्यारापिट तयार पार्ने योजना छ। जी स्टेन्डरको निर्माण गरिने यो प्यारापिटको सम्पूर्ण सामान मलेसियाबाट ल्याउने गरी टेन्डर गरिएको छ।
ठेकेदार कम्पनीले माघ मसान्तभित्र फिटिङ गर्ने सम्झौता पनि गरेको छ तर, मलेसियाबाट सामान ल्याउन अहिलेसम्म एलसी खोल्ने काम नै भएको छैन। एलसी खोलेपछि छिटोमा दुई महिनामा मात्र सामान आउन सक्छ। प्यारापिट जोड्न पनि केही दिन लाग्छ। अहिलेसम्म एलसी नै नखोलेकाले निर्माण समयमै सम्पन्न हुुनेमा आशंका छ। मलेसियाबाटै आएका प्राविधिकले समान जडान गर्ने छन्। प्रादेशिक खेलकुद विकास समिति प्रदेश नम्बर ५ का इन्जिनियर पुष्पराज सापकोटा टेन्डर आह्वान भइसकेको कुरालाई जोड्दा नेपालगन्ज रंगशालामा ६० प्रतिशत काम भइसकेको दाबी गर्छन्।
बेलझुन्डीमा पनि नेपालगन्जमा जस्तै ठूलो रंगशाला बन्दैछ। रंगशालाको काम भने अझै सुस्तगतिमा छ। माघ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो रंगशालाको मैदानमा माटो मात्रै थुपारिएको छ। ‘निर्धारित मितिमा यो रंगशाला बन्न गाह्रो देखिन्छ’, ओली भन्छन्, ‘यो रंगशालाको निर्माण पूर्ण रूपमा सम्पन्न नभए पनि आठौं राष्ट्रिय खेलकुदलाई कुनै प्रभाव पार्दैन। हामी व्यवस्थापन गर्न सक्छौैं। नेपालगन्ज रंगशालाको काम भने समयमै सम्पन्न हुनुपर्छ।’
एक साताअघि दाङबाट रंगशालाको अनुगमन गरेर फर्केका इन्जिनियर सापकोटाले पनि बेलझुन्डी रंगशालाको काम सुस्तगतिमा भएको स्वीकारे। उनले भने, ‘नेपालगन्ज रंगशालामा त अघिल्लो वर्ष नै आधा माटोे पटानको काम भएकाले अलि छिटो भएको हो। बेलझुन्डी रंगशालामा त अहिले माटो मात्रै थुपारिएकोे छ। मुस्किलले २५ प्रतिशत काम सम्पन्न भएको छ।’ आठौं राष्ट्रिय खेलकुद सुरुमा मंसिरमा आयोजना गर्ने घोषणा गरिएको थियो। तर, रंगशालाको काम समयमै सम्पन्न नभएको भन्दै केही समयअघि माघ २५ देखि फागुन ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी मिति परिवर्तन गरिएको छ। यही मितिमा रंगशालाको सम्पूर्ण काम पूरा हुने छाँट भने देखिँदैन।
‘कुनै हालतमा आठौं सर्दैन’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट भने आठौं राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना हुने दाबी गर्छन्। भौतिक पूर्वाधार सम्बन्धि समस्याले आठौं राष्ट्रिय खेलकुदको मिति नसर्ने उनको दाबी छ। ‘भौतिक पूर्वाधारको समस्याले अब आठौं राष्ट्रिय खेलकुदको मिति कुनै पनि हालतमा सर्दैन’, अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा सदस्यसचिव विष्टले भने।
भौतिक पूर्वाधार निर्माणको काम द्रुतगतिमा भइरहेको र प्रतियोगिताका लागि आवश्यक सबै पूर्वाधार निर्धारित समयमै सकिने पनि उनले बताए। ‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो सम्पूर्ण ध्यान अहिले आठौं राष्ट्रिय खेलकुदमै केन्द्रित गरेको छ। त्यसैले अब कुनै पनि हालतमा प्रतियोगिता सर्ने सम्भावना छैन’, उनले भने।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई ‘ट्र्याक’ मा ल्याउन पनि आठौं खेलकुद माघमै आयोजना गर्नुको विकल्प नरहेको उनले बताए। ‘प्रत्येक दुई वर्षमा आयोजना गर्ने गरी २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद ३७ वर्षको अवधिमा सातौं संस्करणसम्म मात्र पुगेको छ। पक्कै पनि नेपाली खेलकुदका लागि यो निराशाजनक पक्ष हो। त्यसैले देशकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगितालाई ट्र्याकमा ल्याउन पनि आगामी माघमै प्रतियोगिता आयोजना गर्नुको विकल्प छैन’, विष्ट भन्छन्। तेस्रो संस्करण (२०४२ साल) सम्म नियमित रुपमा आयोजना भए पनि त्यसयता बहत राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण निर्धारित समयमा आयोजना हुन सकेको छैन।अन्नपुर्णपोष्ट् बाट