मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पहिलो पटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १९ कात्तिक । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ पुरैनीमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्न शुरु गरिएको छ ।
    यसअघि मुख्य बजारमा रहेका बैंकमार्फत वितरण हुँदै आएको सो सामाजिक सुरक्षा भत्तालाई वडा नम्बर २२ पुरैनीका वडा अध्यक्ष विद्याराम बर्माको प्रयास र पहलमा वडाबाटै वितरण गर्न थालिएपछि स्थानीय सेवाग्राही खुशी भएका छन् ।
    दिपावली पर्वलाई लक्षित गरेर सेवाग्राहीलाई सहज होस भन्ने उदेश्यका साथ सो सामाजिक सुरक्षा भत्तालाई वडाबाटै बितरण गर्न लगाईएको वडा नम्बर २२ पुरैनीका वडा अध्यक्ष विद्याराम बर्माले बताए ।
    वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणको सोमवार विहान शुभारम्भ गर्दै अध्यक्ष वर्माले वडामा रहेका बृद्ध, बृद्धा, अशक्त, एकल महिला र फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सहजताका लागि वडाबाटै भत्ता वितरण गरिएको जनाए ।
    आफ्नै घर आँगनमा रहेको वडा कार्यालयमा आएर पहिलो पटक भत्ता बुझ्न पाएकोमा स्थानीय सेवाग्राहीले खुशी ब्यक्त गर्दै वडा समितिप्रति आभार समेत ब्यक्त गरेका छन् ।
    स्थानीय ७२ बर्षिय वरिष्ठ नागरिक हजरत अलीले आफ्नो जिवनमा पहिलो पटक घर आँगनमै सुरक्षा भत्ता बुझ्न पाएकोमा निकै खुशी लागेको जनाउँदै बैंकमा जाँदा दिनभरी लाग्ने तथा सय रुपैयाँ रिक्सा भाडा समेत लाग्ने गरेको र कहिलेकाँही दुईदिन दौड्नु पर्ने गरेको बताए ।
    यस्तै अर्का सेवाग्राही ४० बर्षिय एकल महिला राजिया बेगमले आफ्नै वडामा भत्ता पाएपछि धेरै प्रकारको झन्झटबाट जोगिएको बताइन् । उनले सधैं यस्तै गर्नु पर्ने माग पनि गरिन् ।
    सोही प्रकारले अर्का सेवाग्राही ६५ बर्षिय नागरिक रामलाल चमारले वडा अध्यक्ष र वडा समितिको प्रयासकै कारण यो भएकोले उनिहरुप्रति आभार ब्यक्त गरे ।
    वडामा सामाजिक सुरक्षा भत्ता लिन आएका अधिकांश सेवाग्राहीले यो कार्यको प्रशंसा गर्दै यसले स्थानीय बासिन्दालाई धेरै सहज भएको बताएका थिए ।
    सो सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट मंगलवार पनि वितरण गरिने जनाउँदै सोमवार भत्ता लिन नआएका सेवाग्राहीलाई मंगलवार आउन वडा कार्यालयले आग्रह गरेको छ ।
    नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २२ पुरैनीमा सामाजिक सुरक्षा भत्ता पाउने ३ सय १४ जना नागरिकहरु रहेका छन् भने ती मध्ये सय बढीले सोमवार भत्ता बुझीसकेका छन् ।
    सो वडामा सुरक्षा भत्ता पाउनेहरुमा ६४ जना जेष्ठ नागरिक, ६७ जना दलित जेष्ठ नागरिक, १ सय ९ जना एकल महिला, ३२ जना विधुवा, ४ जना पूर्ण अपांग, १७ जना आंशिक अपांग र १ सय १२ जना दलित बालबालिका रहेको वडा कार्यालयले जनाएको छ ।
    नयाँ आर्थिक बर्ष २०७५–०७६ को प्रथम चौमासिक अन्र्तगत साउनदेखि कात्तिक सम्मको सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो ।
    ७० वर्ष पुगेका बृद्धलाई औषधी उपचारसहित दुई हजार रुपैयाँ र अन्य अन्तर्गत ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई एक हजार रुपैयाँ मासिक भत्ता वितरण गर्दै आइएको छ ।

     

     

  • १९ कार्तिक २०७५, सोमबार १९:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित