काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजधानीमा जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली संकटमा परेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारमा भूमिका खेल्न नसकेपछि स्थायी समिति सदस्यहरुले चर्को आलोचना गरेका छन् ।
गुटबन्दी गर्न खप्पिस हुने तर काम भने पटक्कै केही नगरेको भन्दै ओलीप्रति सबैजसो सदस्यहरु रुष्ट भएका हुन् । सदस्य योगेश भट्टराईका अनुसार अहिलेसम्म बोल्ने १८ मध्ये १६ जनाले ओलीको आलोचना गर्दै वामदेव गौतमले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको समर्थन गरेका छन् ।
ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेश गरेकामा गौतमले त्यसलाई काउन्टर दिँदै छुट्टै प्रतिवेदन ल्याएका थिए ।
सोमबारदेखि उक्त प्रतिवेदनमाथि छलफल भइरहेकामा दुई मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङले मात्र ओलीको कामको समर्थन गरेका थिए । तर भट्टराई भन्छन्, ‘१८ मध्ये प्रायः सबैले वामदेव कमरेडका प्रस्ताव राम्रा भएकाले समर्थन गरेका छन् ।’
बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोगका अध्यक्षहरू अमृत बोहोरा र अमिक शेरचन, थप ४ जना आमन्त्रित गरी ५१ जना नेता सहभागी छन्।
बैठकमा आरोप प्रत्यारोप नै
बैठकमा बोल्ने नेताहरु आरोप प्रत्यारोपमै उत्रिएका छन् । उनीहरुले गुटबन्दी बढेको दावीसमेत गरेका छन् ।
यो आरोपले तत्कालीन एमाले र माओवादी नै फुट्ने सम्भावनासमेत देखिएको छ । आरोप लगाउने क्रममा नेताहरुले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे ।
स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका थिए । उनले अध्यक्षको प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरेका थिए । हाम्राकुराबाट