मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका पूर्वमहमन्त्री कृष्णप्रसाद सिटौलाले आगामी जेठभित्रै १४ औं महाधिवेशन गर्ने प्रस्ताव
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका पूर्वमहमन्त्री कृष्णप्रसाद सिटौलाले आगामी जेठभित्रै १४ औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। उनले भर्खरै सकिएको महासमिति बैठकले पारित गरेको विधान अनुसार ‘अर्ली’ महाधिवेशन गर्नु पर्ने प्रस्ताव अघि सारेका हुन्।

    दायाँ र बायाँ आफूनिकट नेताहरु गगनकुमार थापा, उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईँलाई राखेर बिहीबार बिहान केही पत्रकारहरुसँगको छलफलमा नेता सिटौलाले विधान अनुसार पार्टी चलाउन अर्ली महाधिवेशन गर्नु पर्ने बताए।

    उनले पार्टीलाई विपक्षी दलसँग लड्न सक्षम बनाउन पनि महासमिति बैठकले पारित गरेको विधान अनुसार पार्टीलाई संघीय संरचनामा तत्काल लैजानु पर्ने आवश्यक रहेको बताए। उनले त्यसका लागि संघीय संरचनाअनुसार पार्टी संगठन विस्तार गर्न र बलियो बनाउन आउँदो जेठ मसान्तभित्र १४ औं महाधिवेशन गर्नु पर्ने प्रस्ताव अघि सारेका हुन्।

    सिटौलाले यदि अर्ली महाधिवेशन गर्न नसक्ने हो भने विधानमा राखिएको संक्रमणकालीन व्यवस्था अनुसार वडादेखि माथिसम्मै संघीय संरचना अनुसार निर्वाचन गराउनु पर्ने प्रस्ताव पनि अघि सारे। ‘हाम्रो प्रस्ताव सकिन्छ भने जेठ मसान्तभित्र १४ औं महाधिवेशन गरौं भन्ने नै हो। त्यसले पार्टीलाई बलियो बनाउँछ। होइन त्यो सकिँदैन भने चैत्रभित्रै संक्रमणकालीन व्यवस्था अनुसार पार्टीको संरचना बनाऔं र देशव्यापी रुपमा जनताको घरदैलोमा अभियान लिएर जाऔं,’उनले भने।

    मुलुक संघीय संरचनामा जाँदा २४० निर्वाचन क्षेत्र १६५ मा सीमिति भएकाले धेरै स्थानीय तहको भूगोल नै परिवर्तन भएकाले संगठनलाई चलायमान गराउन पनि नयाँ विधान अनुसार अघि बढ्नु पर्ने उनको भनाइ छ।

    नेता सिटौलाले नयाँ विधानले पार्टी सभापतिलाई कमजोर नबनाएको बताए। उनले भने,‘यो विधान अनुसार सभापतिलाई कमजोर होइन पार्टीलाई बलियो बनाउने काम गर्छ। पार्टी बलियो भएमात्रै सभापति बलियो हुने हो। पार्टी कमजोर तर, सभापति बलियो भए कुनै काम हुँदैन।’

    सभापतिलाई भन्दा पनि पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबै नेता तथा कार्यकर्ताको ध्यान जानु पर्ने उनले बताए। ‘पार्टी बलियो भए सभापति त्यसै बलियो भइहाल्छन्,’सिटौलाले भने,‘सभापति बलियो बनाउन पनि पहिलो पार्टी बलियो बनाउनु जरुरी हुन्छ।’

    सिटौलाले मुलुकमा दुई तिहाई बहुमत पाएको कम्युनिष्ट सरकारको ज्यादती बढेको आरोप लगाए। उनले कांग्रेस सरकारले गरेका निर्णय उल्टाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान खोजेको बताए।

    ‘यो सरकारले जनताको मनोबल गिराउँदै गएको छ। संविधानको परिधिभित्र रहेर होइन सीमा नाघ्दै अघि बढेको छ,’उनले भने,‘यस्तो अवस्थामा विपक्षी दल कांग्रेस सक्षम भएर त्यसको खिलाफमा बोल्न सक्नुपर्छ त्यसका लागि जनताको घरदैलोमा अभियान लिएर जानै पर्छ।’

    सिटौलाले संविधान कार्यान्वयनको स्वामित्व कांग्रेसले नलिए संविधान नै नरहने खतरा रहेको बताए। संघीयता नै असफल बनाउने तर्फ वर्तमान सरकार लागेको भन्दै सिटौलाले भने,‘कांग्रेस संविधानभित्रको व्यवस्था बचाएर अघि बढ्न चाहन्छ।’

    युवा नेता गगन थापाले पनि पार्टीलाई गतिशिल बनाउन विधान अनुसार अघि बढ्नु पर्ने बताए। उनले हरेक निर्णय गर्दा अब महासमिति बैठकले पारित गरेको विधान अनुसार नै निर्णय गर्नु पर्ने बताए। उनले पार्टीलाई बलियो बनाउन छिट्टै महाधिवेशन गर्नु पर्ने बताए।

    ‘हिजो धेरै पटक विधान कुल्चिने काम भएको छ। त्यसविपरित काम भएका छन्। विधानले कार्यसम्पादन समितिलाई मात्रै चिन्छ। हरेक केन्द्रीय समितिको बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्नुपर्छ,’ थापाले भने,‘अब जसरी पनि पार्टीलाई विधान अनुसार चलाउनुको विकल्प छैन।’

     

  • १२ पुष २०७५, बिहीबार १४:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित