मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नीति तथा कार्यक्रममाथि छलफल सुरु
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – वर्तमान सरकारले सम्मानित राष्ट्रपतिलाई पटक–पटक विवादमा तान्ने काम गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बताएका छन् ।

    संसद बैठकमा देउवाले सरकारमाथि राष्ट्रपतिलाई विवादमा तानेको आरोप लगाएका हुन् । उनले संसद बैठकमा भने, ‘सरकारले राष्ट्रपतिलाई पटक–पटक विवादमा तान्ने काम गरको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा बेलायती महारानीको शैलीमा सम्बोधन गर्न गराउन लगाइयो ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेकी थिइन् । उनको यो सम्बोधनको सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जवाफमा बेलायतकी महारानीले मेरो सरकार भन्ने गरेको बताए ।

    नेता देउवाले नीति तथा कार्यक्रममा विगतमा सुरु गरिएका आयोजनालाई पूरा गर्ने कुनै आधार नरहेकाले कार्यान्वयन हुन नसक्ने बताए । उनले भने, ‘मेरो नेतृत्वको सरकारले तीनै तहको चुनाव गरायो । शान्ति कायम गर्यो । तर अहिलेको सरकारको काम गर्ने शैलीबाट जनता ठगिएका छन् । भ्रष्टाचार बढेको । ऋण बढेको छ । यो कुरा महालेखाको प्रतिवेदनमा उल्लेख छ ।’

    उनले बाह्य लगानीको महोल नबनेको पनि बताए । उनले भने, ‘संवैधानिक निकायमा हस्तक्षेप भएको छ । संविधानको भावनाअनुसार सरकार चलनेको छैन । सरकार प्रेस स्वतन्त्रतालाई खुम्च्याउन खोजिरहेको छ । विकास निर्माणले गति लिन सकेको छैन । जसले जनता निराश भएका छन् ।’

    द्धन्द्ध पीडितले अझै न्याय नपाएको उनले आरोप लगाए । उनले भने, ‘नीति तथा कार्यक्रमले नतिजा दिन सक्ने अवस्था छैन । एक वर्षको कार्यक्रम भने पनि चार वर्षको कार्यक्रम ल्याइएको छ । यसै वर्ष सक्नुपर्ने मेलम्ची सकिएको छैन, बूढिगण्डीमा सरकारले खेलवाड गरेको छ ।’

    नीति तथा कार्यक्रममा बढ्दो व्यापार घाटालाई घटाउने कुनै उपाय नरहेको उनले बताएका छन् ।

  • २२ बैशाख २०७६, आईतवार १२:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित