मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नैतिकताका आधारमा नेपाल विद्यार्थी संघका उपाध्यक्षसहित ७ जना पदाधिकारीले पदबाट राजीनामा
  • मार्गरेखा संवाददाता

  • नेपाल विद्यार्थी संघका उपाध्यक्षसहित ७ जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। शुक्रबार नेविसंघ उपाध्यक्ष पुष्पकुमार शाहीसहित ७ जना पदाधिकारीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको पत्र बुझाएका हुन्।

    राजीनामा दिने पदाधिकारीहरुमा उपाध्यक्ष शाहीसहित उपाध्यक्षहरु विकास केसी र सञ्जय यादव, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेमाज जोशी रहेका छन्।

    नेविसंघ उपाध्यक्ष शाहीले कार्यकाल सकिएको र तोकिएको समयमा अधिवेशन हुन नसक्ने भएकाले नैतिकताका आधारमा सभापतिलाई आफूहरुले राजीनामाको पत्र बुझाएको जानकारी दिए। उनले भने,‘ हाम्रो पदावधि पूरा भइसकेको छ। विधान अनुसार तीन महिना म्याद थप गरौं त्यो समयमा पनि अधिवेशन हुन सकेन। पछि पार्टीले विशेष कारण भन्दै तीन महिना थप गरिदियो। यो समयमा पनि अधिवेशन हुन सक्ने स्थिति छैन। त्यसैले राजीनामा दिएर बाटो खुला गरिदिएका हौं।’

    शाहीले पार्टीले नेविसंघमा ३२ वर्षे हदबन्दी लगाएको र आफूहरु लामो समय पदमा बस्दा आउने पुस्ता नेतृत्व गर्नबाट बञ्चित हुने भएकाले राजीनामा दिएर बाटो खुला गरिएको बताए।  उनले नेविसंघ अध्यक्ष नैनसिंह महरा लगायतका नेताहरु आफ्नो कार्यकाल बढाउन लागि परेको पनि आरोप लगाए। ‘अध्यक्ष महरजी अधिवेशन गर्ने भन्दा पनि आफ्नो कार्यकाल बढाउनेतिर लाग्नु भएको छ। त्यसैले हामीले उहाँलाई राजीनामा नबुझाएर सिधै पार्टी सभापतिलाई बुझाएका हौं,’ उपाध्यक्ष शाहीले भने।

    नेविसंघको म्याद यही माघ २ गते सकिँदैछ। तर, अहिलेसम्म केही जिल्लाबाहेक अन्य ठाउँमा अधिवेशन हुन सकेको छैन। तोकिएको समयमा जिल्ला तथा क्याम्पसहरुमा अधिवेशन नभएपछि पुस मसान्तका लागि तोकिएको नेविसंघको अधिवेशन नहुने निश्चित भएको छ।

  • २७ पुष २०७५, शुक्रबार १२:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित