मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

त्यसकारण महाकालीमा हाम फालें………………….
  • मार्गरेखा संवाददाता

  • मेरो नाम लोकेन्द्र बोहोरा हो । घर सुदूरपश्चिम प्रदेशको बैतडीमा पर्छ । डीलासैनी गाउँपालिका– २ नम्बर वडा (साविक कोटपेट्रा वडा नम्बर ९ हो मेरो घर । वर्षभरि काम गर्दा पनि खान, लगाउन नपुगेपछि म दुई महिनाअघि दार्चुलाबाट भारत छिरेँ । टाढा त कहाँ पुग्न सकिन्थ्यो र ! धार्चुलाबाट तीन–चार घण्टा लाग्छ । पिथौरागढ जिल्लाको पञ्चाचुलीमा सडक निर्माणको काम फेला पारेँ । काम निकै कष्टपूर्ण छ । सीप नभएको, जम्माजम्मी आइए पढेको, जे भेट्टाइन्छ त्यही काम गर्नु बाध्यता नै भइहाल्यो । उमेरमा त्यती पाको पनि छैन । जम्मा २० वर्षको त भएँ । तथापि, जसोतसो काम गर्दै थिएँ । रोग आयो भनेर हल्ला चलिहाल्यो । पछि थाहा पाएँ, कोरोनाभाइरस रहेछ त्यो । चीनबाट फैलिएको रे !

    हामीजस्तो मजदुरी गर्नेलाई असर नपुर्‍याउला नि त भन्ठानेको ! केको पुर्‍याउँदैनथ्यो ! कोरोनाको प्रकोप बढेपछि काम बन्द भयो । ज्यालादारी काम बन्द भएपछि कहाँ बस्न सकिन्छ र त्यहाँ ! साँझ–बिहान के खाने ? अर्काको देशमा कोसँग हात थाप्ने ? भारतीयहरूको हेलाहाँसो उस्तै । हामीले नै रोग सार्दिन्छौं जस्तो गर्न थाले । हेप्न थाले । गालीगलौज गर्न थाले । अर्काको देशमा काम गर्न जाँदाको पीडा बल्ल बुझेँ मैले । सोमबार बिहानै पञ्चाचुलीबाट धार्चुला झरेँ । दुईबजेतिर आइपुगेको थिएँ । देश फर्कन चाहनेहरूको दर्दनाक अवस्था रहेछ !७–८ सय होलान्, बाटामै बसिराखेका रहेछन् । धेरै भोकै थिए । कतिदिनदेखि सुतेका थिएनन् । कोही रोइरहेका देखिन्थे । कोही चिच्याइरहेका सुनिन्थे । सबैको एउटै आवाज थियो– हामीलाई देश पस्न देओ । मरे पनि आफ्नै देशमा मर्छौं ! कसले सुन्नु दीनदुःखीको आवाज ! हामी छिरे रोग पस्छ झैं गरे । दिनभर चिच्यायौं अहँ पस्न दिएनन् । देश छिर्न नपाएका नेपालीलाई भारततिरको स्थानीय प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र काञ्जी हाउसमा व्यवस्थापन गर्‍यो । जवाहरसिंह स्टेडियममा ३ सय २५ जना, बलुवाकोट महाविद्यालयमा ६० जना, जौलजीवीमा १ सय १० जना र काञ्जी हाउसमा १ सय ६५ जनालाई बन्दोबस्त गरिएको छ । म पनि त्यही भीडमा समेटिएँ ।

    झण्डै सातसय मानिस ती चार ठाउँमा मात्रै अट्ने स्थिति छैन । नअटेका अहिले पनि सडक छेउछाउ, नदी किनार छन् । घर फर्कन पाइन्छ कि भन्ने आशमा छन् । तर, कहिले पाइन्छ ? कसैसँग जवाफ छैन । कोशौं टाढादेखि हिँडेर आएकाहरू प्रायः थकित् छन् । उनीहरूलाई आराम, पर्याप्त खानाको आवश्यकता छ । रोगी, वृद्धहरू पनि छन् । उनीहरूलाई त्यसरी गुम्स्याएर राख्नुहुँदैन ।धेरै मानिस एकै ठाउँमा बस्दा फोहर, मैला थुप्रिएको छ । दुर्गन्ध फैलिएको छ । कदाचित् कोही कोरोना सङ्क्रमित रहेछ भने सबै सिकार हुनेवाला छन् । कोही सद्दे रहँदैनन् ।

    सामूहिकरूपमा बसेकासँग कसैसँग गतिलो मास्क छैन । सबैले रुमालले नाक छोपेका त छन् । हप्ता दिनदेखि त्यही रूमालले नाकमुख छोपेकाले त्यसैको सङ्क्रमणले रोगी हुने भय बढिसकेको छ । भारतीय प्रशासनले हो कि, नेपालले उपलब्ध गराएको हो, हिजो हामीले थोरै खानेकुरा पायौं । खिचडीजस्तो थियो । आज बिहान दुईवटा रोटी (पुरी) दिएको थियो । कतिले त्यो पनि पाएनौं भन्दै थिए ।

    बीच भारतमा अलपत्र परेको भए त ल्याउनुपर्ने हो, सीमासम्म आइपुगेका नागरिकलाई किन रोकेको हो ? मैले बुझ्न सकेको छैन । देश छिरे, सरकारको निर्णयानुसार कहाँ बस्नुपर्ने हो, बस्छौं भनेकै छौं । १४–१५ दिन कति बस्नुपर्ने हो, बस्छौं ।त्यसो भन्दा पनि कसैले सुनेन । भीडमा गुम्सिए, भोकभोकै बस्दा प्राण नै जाने देखेँ । कोरोना भन्दा उकुसमुकुले ज्यान जालाजस्तो भयो ।

    मान्छेको कोलाहलमा बस्दा घरको अति नै माया लागेर आयो । परिवारको सम्झना भयो । कतिञ्जेल गुम्सिएर बस्नुपर्ने हो कसैसँग उत्तर छैन ! आफ्नो देश त आफ्नो भएन भने भारतले कतिञ्जेल दया गर्ला ! अर्काको देशको नागरिकको स्याहार गर्न उसलाई पनि के खाँचो र भीडभित्र निसास्सिएर मर्नुभन्दा काल आएको रहेछ भने खोलाले नै खाओस् भनेर आज (मङ्गलबार) दिउँसो महाकालीमा हाम फालेँ ।महाकालीको पानी घटेको रहेछ । जसोतसो भँगालो काटेँ । देशको किनार भेट्टाएँ । वारि आइपुगेपछि प्रहरीले समात्नुभयो । किन महाकालीमा हाम फालेको भन्दै थिए । परिवार भेट्न भनेर जवाफ दिएपछि उहाँहरू चुप लाग्नुभयो । प्रहरीले ज्वरो जाँच्नुपर्छ भन्नु भएको छ । कतिबेला जाँच्ने हो, टुङ्गो छैन । एकजना प्रहरी भन्दै हुनुहुन्थ्यो, डाक्टर खाना खान जानुभएको छ रे ! दुईघण्टा भयो डाक्टर आउनुभएको छैन । देश आइपुगेको छु । जतिदिन बस्नु परे पनि बस्छु । प्रहरीले जहाँ भन्नुहुन्छ त्यहीँ बस्छु ।  म सरकारलाई अनुरोध गर्छु । आफ्नो देशको सीमासम्म आइपुगेका नागरिकलाई नरोक्नुहोस् । अर्काको देशमा अलपत्र नछाड्नुहोस् । ती मजदुर, श्रमिक होइनन्, तपाईंहरूका मतदाता हुन् । आफूलाई मत दिने जनताप्रतिको कर्तव्य पूरा गर्नुहोस् ।

    (सीमा बन्द भएपछि महाकाली नदी तरेर नेपाल प्रवेश गरेका बोहोरासँग गरेको कुराकानीको सम्पादित अंश ।)

  • २० चैत्र २०७६, बिहीबार ०९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित