मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपद् व्यवस्थापन कोषमा अपेक्षाकृत राहत जम्मा भएन
  • मार्गरेखा संवाददाता

  • विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई कम गर्ने उद्देश्यले सरकारले गरेको बन्दा बन्दी (लकडाउन) को अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने तथा अति विपन्न परिवारका व्यक्तिहरुलाई साँझ बिहानको छान टार्न समेत समस्या हुने र त्यस्तो अवस्थामा सरकारको तर्फबाट ती परिवारहरुलाई राहत उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले कोहलपुर नगरपालिकाले सर्वपक्षिय सर्वदलिय बैठकको निर्णय अनुसार कोहलपुर नगरपालिका स्तरीय विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ ।
    त्यस कोषमा शनिबार सम्म विभिन्न व्यक्ति तथा संस्थाहरुका तर्फबाट जम्मा रु ४ लाख ७५ हजार ६ सय एघार रुपैंया मात्र जम्मा भएको छ । हाल सम्म कोहलपुरमा रहेको महिला उपकार मंचले रु १ लाख ११ हजार १ सय एक रुपैंया, गोर्खा युनाइटेड स्कुलले रु १ लाख, बसपार्क बजार सुधार समितिले रु ५५ हजार ,भुषाल ब्रदर्सको तर्फबाट रु ५१ हजार, मालिका हार्डवयर तथा मालिका मेट्रो मार्टको तर्फबाट रु ५१ हजार, इन्रुडेक बाँकेबाट रु ५१ हजार,बसोबास महिला बचत तथा ऋण सहकारीको तर्फबाट रु २५ हजार ५ सय,क्रिसा कोहलपुरको तर्फबाट रु २१ हजार र समाजसेवी शैलेन्द्र शाहीबाट रु १० हजार प्राप्त भएको छ ।
    कोहलपुरमा थुप्रै संघ संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, सहकारीहरु , गैरसरकारी संस्थाहरु , उद्योगहरु , ठूला ब्यापारीहरु पनि छन् । तर यस्तो संकटको बेला सरकारलाई सहयोग गर्नेहरु कमै देखिएका छन् । कयौं संघ संस्थाहरु नगरपालिकामा यस्तो यस्तो दिनु प¥यो भनेर आउने गर्दछन् तर यो संकटको समयमा स्थानीय सरकारले स्थापना गरेको कोषमा हामी पनि केही सहयोग गर्न चाहन्छौं भनेर नआएकोमा दुःख लागेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत बताउँछन् । सरकारले राहत पाउनै पर्ने अति विपन्न परिवारका व्यक्तिहरु सबैले राहत पाउन सकून र विपन्नको नाममा सम्पन्न परिवारहरुले राहत लिएर अपारदर्शी र अनियमितता नहोेस भनेर राहत वितरणमा एकद्वार प्रणाली अपनाउने निर्देशन अनुसार कोहलपुर नगरकार्यपालिकाले पनि राहत वितरणमा एकद्वार प्रणाली मार्फत गर्ने निर्णय गरिसकेको पनि छ । तर हाल कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले नै राहत संकलन तथा वितरणमा एकद्वार प्रणाली लागु गरेको पाइदैन ।
    एकद्वार प्रणाली अनुसार कोहलपुर नगरपालिकामा जुनसुकै वडाका व्यक्ति तथा संघ संस्थाहरुले नगद वा जिन्सी राहत नगरपालिकामा जम्मा गर्ने र सबै वडाबाट संकलन भएको विपन्न परिवारहरुको संख्यालाई भेरीफाई गरी कोहलपुर नगरपालिकाले समानुपातिक तरिकाले प्रत्येक वडा कार्यालय मार्फत राहत वितरण गरिनु पर्नेमा त्यसको पालना वडाका जनप्रतिनिधिहरुले नै नगरेकोमा नगर प्रमुखले खिन्नता समेत व्यक्त गरेका छन् । केही दाताहरुले वडामा नै राहत दिने र वडा कार्यालयले नगरपालिकालाई जानकारी समेत नगराएर आफू खुशी आफ्नै वडामा वितरण गरेको कुरा सार्वजनिक हुनु आफूलाई समेत आश्चार्य लागेको नगर प्रमुख बताउँछन् । नगर प्रमुख रावतको भनाइ छ, ‘एकद्वार प्रणाली भनेर आफूले नगरकार्यपालिकाको बैठकमा निर्णय गर्ने साथीहरुले आफ्नै निर्णय पालना नगरेको देख्दा दिक्क लाग्छ , वहाँहरुलाई यो अनुशासन कस्ले सिकाउने ? सहयोग गर्ने दाताहरुलाई पनि नगरपालिका मै आएर आफूले नगद वा जिन्सी के सहयोग गर्ने हो एकद्वार प्रणाली मार्फत गरिदिनु हुन म अनुरोध गर्दछु ।’ हाल कोहलपुर नगरपालिकाका प्रायः सबै वडाहरुमा पहिलो चरणको राहत वितरण गरिसकेको छ । पहिलो चरणमा सबै वडाबाट दैनिक ज्यालादारी अति विपन्न ४ हजार ४ सय छत्तीस जनाको नामावली संकलन भएकोमा हाल अन्य थुप्रै छुटेका विपन्नहरुको नामहरु वडा कार्यालयमा दर्ता भएको र तिनीहरुलाई समेत राहत वितरण गर्नु पर्ने अति आवश्यक रहेको वडाका जनप्रतिनिधिहरुले बताएका छन् ।
    नगर प्रमुख रावतले भने ‘उता सबै वडाहरुबाट राहत पाउँ भन्दै नामावाली बढिरहेको छ भने यता राहत कोषमा प्राप्त हुने सहयोग हामीले अपेक्षा गरे जस्तो हुन सकिरहेको छैन । बन्दा बन्दी लम्बिदै जाँदा अझै समस्या हुने अवस्था देखिएको छ’ । नगर प्रमुख रावतले कोहलपुरमा सहयोगी मनहरु भएका व्यक्ति तथा संघ संस्थाहरुलाई यस्तो विपद्को समयमा आपत विपदमा परेका व्यक्तिहरुका लागि मन खोलेर सहयोग गर्न आग्रह समेत गरका छन् ।

  • ३० चैत्र २०७६, आईतवार १४:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित