प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनलाई एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन् । चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेका आरोप लगाएपछि नेता शाहीले उक्त चुनौती दिएका हुन् ।
“नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सूक्ष्म अध्ययन एवं विश्लेशण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छायामा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाइ खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाइ चुनौती दिन्छु,” उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ।
कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री समेत रहेका शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए । उनको प्रतिवेदनका आधारमा कांग्रेसले सरकारलाई सीमा विवाद समाधानको पहल गर्न माग गरिरहेका बेला चीनले शाहीलाई चीनविरोधी गतिविधिको नेतृत्व गरिरहेको आरोप लगाएको थियो ।
‘हु इज बिहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्टस् प्रोभोकिङ नेपाल एग्नेस्ट चाइना ?’ (नेपाललाई चीनविरुद्ध उक्साउने बनावटी रिपोर्टको पछाडि को छ ?) शीर्षकको समाचारमा हुम्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएका उक्त समाचारहरु ‘गोप्य स्रोत’ भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित-प्रसारित गरेको ‘ग्लोबल टाइम्स’ ले जनाएको थियो ।
टाइम्सले लेखेको थियो, “भारतको पक्षधर भन्ने ट्याग भिरेको नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले अतिक्रमणको हल्ला फिँजाइरहेका छन् ।” ‘ग्लोबल टाइम्स’ लाई उद्धृत गर्दै नेपालका अनलाइन सञ्चार माध्यमहरुले उक्त समाचार प्रकाशन गरेपछि नेता शाहीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
हुम्लाको जिम्मेवार जनप्रतिनिधिका नाताले नेपाली भूमिको रक्षाका लागि धाक, धम्की र अनुचित प्रभावमा नपरेर अटुट रूपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले चीन सरकारले सीम नमिचेको प्रमाणित गरे सजाय भोग्न तयार रहेको पनि बताएका छन् ।
“हुम्ला जिल्लाको जिम्मेवार जनप्रतिनिधिका नाताले आफ्नो भूमिको रक्षाका लागि कुनै किसिमको धाक, धम्की र अनुचित प्रभावमा नपरी अटुट रूपमा लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” नेता शाहीले विज्ञप्तिमार्फत भनेका छन्, “साथै चीनले नेपाली भूमि नमिचेको प्रमाणित गरे जस्तोसुकै सजाय भोग्नसमेत तयार रहेको जानकारी गराउँदै आफ्नो भूमिको रक्षाका लागि नेपाल सरकार र सरोकार निकायलाई निरन्तर दबाब सिर्जना गर्न र यस्ता मिथ्या एवं काल्पनिक समाचारबाट भ्रममा नपर्न आम नेपाली समुदायलाइ अपिल गर्दछु ।”