मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • ३१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद थप चर्किने संकेत देखिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्काे समूह असन्तुष्ट बनेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ ।

    डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु सानेपा पुगेका छन् । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा छन् । ‘हामीले डडेल्धुरामा भएको भनिएको वडा अधिवेशन स्वीकार गर्दैनौं भनेर भनिसकेका छौं, आज निर्वाचन समितिका पदाधिकारी र सदस्यहरुलाई भेटेर डडेल्धुराको अधिवेशनलाई मान्यता नदिन र फेरि अधिवेशन गराउन सानेपामा छौं,’ पौडेल समूहका एक नेताले भने ।

    पौडेल समूहले ५ असोजमा तोकिएको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउन निर्वाचन समितिसँग माग गरेका हुन् । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ । जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् ।

    कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन शुरु भएको हो । अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा अधिवेशन नभएका जिल्लामा ५ असोजमा गर्ने गरी महाधिवेशनको समयतालिका परिमार्जन गरिएको हो ।

  • ३१ भाद्र २०७८, बिहीबार १५:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित