बाँकेको राप्ती नदीस्थित स्नान घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिएको छ ।
हिन्दुहरुको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पबित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दिप प्रज्वलन गरिएको हो ।
दिप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले उद्घाटन गर्नुभयो । उहाँले हिन्दुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने बिधि बिद्यान अनुरुप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गर्नुभएको थियो ।
नेपालगञ्जस्थित बागेश्वरी संचार सेवा प्रालिको आयोजना एवं डुडुवा गाउँपालिकावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गर्नुभयो ।
उहाँले पबित्र स्थानमा यसरी सामुहिक रुपमा ठुलो मात्रामा दिप प्रज्वलन कार्य आफैमा सराहनीय भएको बताउनुभयो ।
यसैक्रममा बोल्दै उहाँले गाउँपालिकाले समेत यस स्थानमा भौतिक संरचनाहरु निर्माण गर्ने योजना बनाएको भएपनि जग्गा अभावका कारण पुरा हुन नसकेको स्पष्ट पार्नुभयो ।
राप्ती नदीको बिचमै सय फिटको शिवको मुक्ति बनाउने योजना रहेको र त्यसको डिपिआर समेत भइसकेका कारण उक्त कार्यपनि गर्ने बताउनुभयो ।
सिधनिया घाट सबैको केन्द्र बिन्दुका रुपमा रहेकाले यसलाई पर्यटन बिकाससंग जोड्न चाहिरहेको तर बिभिन्न संरचना बनाउन जग्गा अभाव भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
बागेश्वरी संचार सेवा प्रालिका अध्यक्ष बृजमोहन गुप्ताले स्थानीय युवाहरुले यो पटक राप्ती नदीमा दिप प्रज्वलन गरौं भन्ने चाहना देखाईरहेको र असल कार्य हुने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
महादीपोत्सव कार्यक्रमलाई स्थानीय भोला गुप्ताले नेतृत्व गरेका थिए । दिप प्रजवलन गर्नुअघि बुधबार बिहानैदेखि सो क्षेत्रमा स्थानीय युवाहरुले सरसफाई गर्ने र त्यहाँस्थित मन्दिरलाई रंङ्गरोगन गर्ने कार्य गरिएको छ ।
कार्यक्रममा डुडुवाका बिभिन्न पार्टीका स्थानीय नेताहरु, स्थानीय युवा क्लब, पत्रकार लगायतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बागेश्वरी संचार सेवा प्रालिका प्रबन्धक सन्तोष गुप्ताले जानकारी दिनुभयो ।