नेपालगन्ज माघ २ । आज देखि काेराेना विरुद्धको ‘बूस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । बाँकेमा पनि दुई ठाउँबाट ‘बूस्टर डोज’ लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगन्जको भेरी अस्पतालको इमर्जेन्सी सेवाको अगाडि र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट खोप दिइँदैछ ।
कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई आजदेखि ‘बूस्टर डोज’ दिन सुरु गरिएको हो । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको बताए ।
अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी), सार्वजनिक फोहोर संकलक सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू , महिला स्वास्थ्य स्वयंसेविकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि) मा काम गर्ने कर्मचारीहरुलाई ‘बूस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो ।
कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका ब्यक्तिहरुलाई अहिले खोप दिइनेछ । खोप लगाउन जाँदा खोप कार्ड र परिचयपत्र आवश्यक पर्नेछ । त्यसैगरी ६० बर्ष उमेरमाथिका नागरिकहरुलाई माघ १४ गतेदेखि ‘बूस्टर डोज’ खोप दिइनेछ ।