मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके-२ का मतदाताले ल्याकत भएको सांसद खोजेका छन्: इश्तियाक राई
  • मार्गरेखा संवाददाता

  •  

    प्रतिनिधि सभा तर्फ बाँके२ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्न प्रयासरत छन् । यसअघि २ पटक संसद र ३ पटक मन्त्री भइसकेका राई योपटक पनि आफू निर्वाचित हुने दाबी गरिरहेका छन्। उनको यस्तो दाबीको आधार के हो ?  उनलाई फेरि जिताउँदा बाँके लाई के लाभ मिल्छ ? उनको निर्वाचन गतिविधि कसरी अघि बढीरहेको छ ?  यिनै विषयमा केन्द्रित भएर हामीले उनीसँग गरेका कुराकानीको सम्पादित अंश

     

     

     

    . तपाईं नै यसपटक उम्मेदवार किन हुनुभयो? यो चुनावको तयारी कस्तो छ?

    मलाई मेरो दल जनता समाजवादी पार्टी नेपालले उम्मेदवार बनाएको हो । बाँके-२ का जनताको विकासको चाहना पूरा गर्ने मेरो पनि गन्तब्य हो। मेरो गन्तब्यमा साथ दिँदै पार्टीको जिल्ला तहबाट मेरो एकल सिफारिस भयो र केन्द्रले पनि त्यसलाई अनुमोदन गर्‍यो । अब जनताले पनि मंसिर ४ मा मेरो उम्मेदवारीलाई अनुमोदन गर्दैछन् ।

    सुरुमा निर्वाचनमा त्यति खटनपटन गर्न पाइनँ । सरकारबाट हटेपछि भने पूर्णरुपमा निर्वाचनमा केन्द्रित छु । दिनदिनै जसपाका उम्म्देवारहरूप्रति मतदाताको आकर्षण बढिरहेको छ । पार्टी प्रवेश गर्न चाहने साथीहरूलाई समेत समय दिन नसकेको अवस्था छ । धेरैलाई त हामीले अहिले जो जहाँ हुनुहुन्छ त्यहीँबाट सहयोग गर्नुस्, निर्वाचनपछि औपचारिकरूपमा बृहत्तरूपमै पार्टी प्रवेशको कार्यक्रम गरौंला भन्नुपर्ने अवस्था आएको छ ।

    . तपाईको प्रतिवद्धता के के हुन् ?

    मैले जनतालाई जहिल्यै पनि सम्भव र गर्न सक्ने कामको मात्र प्रतिबद्धता जनाउँदै आएको छु। पदमा पुग्नकै लागि हावादरी प्रतिबद्धता मैले कहिल्यै गरिन । अहिले पनि मैले प्रतिबद्धता भन्दा पनि आफूले नीतिगतरूपमा गर्न सक्ने कामकुरा जनतामाझ राखिरहेको छु । मैले बाँके-२ का लागि राखेको भिजन ’१० दृष्टि’ मार्फत आफ्ना भावी योजनाहरू जनतामाझ प्रस्तुत गरिसकेको छु । यीनै दृष्टिको सेरोफेरोमा रहेर मैले भोलिका दिनमा काम गर्ने हो । भेरी अस्पतालमा दीर्घरोगीहरूका लागि विशेषज्ञसहितको छुट्टै युनिट,  जमुनाहा-हिल्सा सडक योजनालाई कर्यान्वयनमा लैजान पहल गर्ने, कम्तीमा ५ विद्यालय र ५ स्वास्थ्य संस्थालाई नमूना बनाउन नीतिगत सुधार ल्याउने, व्यवसायीक सुरक्षा,  महेन्द्र बहुमुखी क्याम्पसको भवनका साथै शैक्षिक कार्यक्रममा सुधार लगायत मेरा प्राथमिकता हुन् । अन्य थुप्रै प्रभावकारी योजनाहरू पनि छन्, जसलाई मैले जनतामाझ पुर्‍याइसकेको छु । यी मेरा प्रतिवद्धताहरू भन्दा पनि अठोटहरू हुन् । मैले मेरा अठोटहरू सबै मतदातालाई लेखेरै दिएको छु र त्यो दस्तावेज सुरक्षित राख्नुहोला भनेको छु । किनकि ती अठोट पूरा गर्न सकिनँ भने निर्धक्क भएर जनताले फेरि प्रश्न गर्न सकून् भन्ने मेरो चाहना हो ।

    . संसद त कानुन बनाउने थलो हो, तपाई विकासका आश्वासन मात्रै किन बाँड्नुहुन्छ ?

    हो नि! यो प्रश्न गर्नुभन्दा पहिले तपाईंले नै मलाई विकासतर्फ संकेत गर्दै तपाईंका प्रतिबद्धताहरू के-के हुन् भनेर सोध्नुभयो । संसद भनेका खासमा नीति-नियम बनाउने नै हुन्। सांसदहरूले बनाउने नीति-नियम कै आधारमा विकासको मार्ग कोरिने हो । राम्रो नीति भो भने राम्रो विकास हुन्छ। नीति गलत भयो भने गडबड हुन्छ । तर यसको मतलब सांसदले काम गर्ने सवालमा मुठ्ठी बाँधेर बस्ने भन्ने विल्कुल होइन । मैले गरेका अठोटहरू पनि नीति निर्माणसँगै सम्बन्धित छन् । नीति त विकासका लागि पनि चाहिन्छ नि !

    विकासमा संसदको भूमिका अहम् हुन्छ । विकासका राम्रा योजनाहरू ल्याएर आफ्नो क्षेत्रमा बजेट सुनिश्चित गर्न सक्ने ल्याकत भएको सांसद भएमा त्यस क्षेत्रका जनताका लागि त राम्रो हुन्छ नै देशकै लागि पनि राम्रो हुन्छ ।

    अहिले संसद भएकै भरमा यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्दै कतिपय उम्मेदवारहरू हिँडिरहेका छन् । भोलिका दिनमा पूर्वाधार विकास साझेदारी कोष (संसदीय विकास कोष) नै निरन्तर हुन्छ वा हुँदैन भन्ने निश्चित छैन। ठूला-ठूला योजना पूरा गर्नलाई त सरकारमा पनि पहुँच हुनुपर्ला। ती सबैको सुनिश्चितता नहुँदै जनतालाई झुक्याउनु हुँदैन भन्नेमा म दृढ छु। मेरा भावि योजनाहरू हेर्नुभयो भने मैले आश्वासन बाँडेको हो वा यथार्थपरक हो भन्नेमा प्रष्ट भइहाल्नुहुन्छ ।

    . यसअघि चुनाव जितेर आफ्नो क्षेत्रमा के के गर्नुभयो ?

    मैले आफ्नो क्षेत्रका लागि उत्पातै गरें त भन्दिन। तर सम्भव भएसम्मका अनि जनताका लागि आवश्यक कामहरू गरेको छु र गर्दैछु । मुख्यरुपमा भेरी अस्पताल, सडक, नाला,  हाइमास्ट लाईट, सभा हल, पुलहरूलाई केन्द्रमा राखेर म यहाँको प्रश्नबारे चर्चा गर्न चाहन्छु ।

    सहरी विकर्न चाहन्छु। सहरब ५२ अर्ब रं पनि महत्वपा मुस मन्त्री हुँदा मैले भेरी अस्पतालमा आधा अर्बभन्दा बढी लागतमा वातानुकुलीत इन्डोर भवन बनाउन बजेटको जोहो गर्न सकें । जहाँ ५० रूपैयाँको पर्चा काटेर जुनसुकै हैसियतका विरामीले उपचार गराउन पाउने भएका छन् । त्यस्तै ३९ वटा हाइमास्ट लाइट बजार र आसपास क्षेत्रमा लगाइयो । एकैसाथ नगरभित्र २२ वटा सडकको शिलान्यास गरी निर्माण सम्पन्न गरियो । सायद कुनै गल्ली बचेको होला जहाँ पीसीसी बाटो निर्माण नभएको होस् । वडा नं १४ मा अन्तर्राष्ट्रिय स्तरको सभा हल बनाइएको छ ।

    पछिल्लोपटक लगभग तीन महिना भौतिक मन्त्री हुँदा पनि मैले धमाधम काम गरें । जमुनाहा-राँझा सडकखण्डमा अस्फाल्ट ओभर ले को काम भइरहेको छ । यो सडक कालोपत्रे गर्ने विश्वकै उत्कृष्ट प्रविधि हो । पुष्पलाल चोकदेखि सिधनियासम्मको सडकको काम सुरु भएको छ । ट्राफिक लाइट जडान र ओभरहेड ब्रिजको काम १/२ दिनमै सुरु हुने भएको छ । वर्षौंदेखि विग्रिएको नेपालगन्ज-गुलरिया सडक पनि स्ट्रिटलाइटसहित फराकिलो र गुणस्तरीय बनाउने बजेट सुनिश्चित भइसकेको छ । यता राप्ती नदीमा एउटा डबललेन पुलसहित अन्य ७ वटा पुल निर्माण प्रक्रियामा गइसकेका छन् ।

    यी सबैकुरा भनिरहँदा मैले गरेका कामका सम्बन्धमा एउटा कुरा भन्नैपर्ने हुन्छ । मैले सहरी विकास मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रका लागि धेरै आयोजना र बजेटको व्यवस्था गरेको थिएँ । जसको तत्कालीन सत्तारूढ दलकै सांसदहरू झपट बोहोरा लगायतले संसदमै विरोध गर्नुभयो । सबै बजेट आफ्नो क्षेत्रमा लग्यो भनेर मौन विरोध भयो। यो विरोध त मैले आफ्नो क्षेत्रका लागि गरेरै भएको हो नि ? मेरो पहिलो प्राथमिकता जहिल्यै पनि मेरो क्षेत्रका मतदाता नै हुन्। मेरा मतदातालाई केन्द्रमा राखेर नै मैले काम गर्दै आएको छु ।

    . यसअघिका वाचाहरु पूरा भएकै छैनन् अब के भनेर मत माग्नुहुन्छ ?

    मैले गरेका के वाचा पूरा भएनन् तपाईं नै भन्नुस् न !  मलाई त त्यस्तो वाचा गरेर काम नगरेको जस्तो केही लाग्दैन। मैले पटक-पटक सांसद र मन्त्री हुँदा गरेका कामहरुको फेहरिस्त सबै मतदातालाई बुझाएको छु । तर पनि  एकाध काम-कुराहरू भने छन् । राप्ती नदी छेउमा किरियापुत्री भवन र स्तरीय घाट बनाउने कुरा मैले भनेको हुँ । जुन त्यो ठाउँ पर्ने पालिकाका प्रमुखले असहयोग गरेपछि बन्न नसकेको हो । मैले आफ्नो संसदको कोषबाट त्यो बनाउन चाहेको थिएँ। तर राजनीतिक स्वार्थमा काम गर्न नै दिइएन । अरू त भनेका सबै काम मैले गरेकै छु ।

    सामाजिक-सांस्कृतिक पक्षमा पनि मैले सकेसम्मको गरेको छु । संसद विकास कोषबाट करिब ७० मन्दिर-मस्जिद सौन्दर्यकरणका लागि, सामाजिक संरचना निर्माणका लागि सहयोग गरेको छु  ।

    . तपाईविरुद्ध बलिया गठबन्धन छन्, कसरी प्रतिस्पर्धामा आउनुहुन्छ ?

    स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानेर तपाईंले बलिया गठबन्धन भन्नुभएको होला। तर बलिया भइदिएको भए उनीहरू गठबन्धन नै गर्थेनन् होला नि ! फेरि हामीले अरुसँग गठबन्धन नगरे पनि जनतासँग गठबन्धन गरेका छौं ।  जनतासँगको गठबन्धनभन्दा बलियो अरू गठबन्धन कसरी हुनसक्छ ?

    यसअघिको संसदीय निर्वाचनमा पनि म एक्लै थिएँ । कांग्रेस-राप्रपा र एमाले-माओवादी गठबन्धनलाई फराकलो मतान्तरले हराउँदै मैले जित निकालेको हुँ ।

    मतदातामाथि विश्वास नहुनेले,  कमजोर उम्मेदवार हुनेले र जसरी पनि आफैं हुनुपर्छ भन्ने मपाइँत्वको सोच भएकाहरूले यहाँ गठबन्धन गरेका हुन् । र अर्को कुरा, यहाँको गठबन्धन आफैमा कमजोर पनि छ । कोही पूर्व-कोही पश्चिम लागेका छन् । माथिबाट गठबन्धन गरिदिएकै भरमा मतदाता लतारिएर त जाँदैनन् नि । उनीहरूले पनि त आफ्नो विवेक प्रयोग गर्छन् होला नि। कसले काम गरेको छ, कसले काम गर्न सक्छ, को जनतामा लोकप्रिय छ, कसले जनताको सुखदुखमा साथ दिएको छ भन्ने कुरा मतदाताले मूल्यांकन त गरेका हुन्छन् नि !

    यहाँका मतदाता जसले जे भन्यो त्यही गर्ने होइनन् । राम्रो र नराम्रो मूल्यांकन गरेर मताधिकारको सदुपयोग गर्छन् ।

    . तपाईको विचारमा देशलाई सुशासनयुक्त र विकासको तीब्र गतिमा अघि बढाउन के कस्ता कानुनहरुको अभाव भएजस्तो लाग्छ ?

    सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता महत्वपूर्ण विषयमा राजनीतिक दलहरूबाट पर्याप्त चासो र चिन्ता नहुँदा नै अहिलेको अवस्था आएको हो । यी तीन क्षेत्रमा सुधार ल्याउने हो भने अहिले विकासमा व्याप्त अवरोधहरू आफै कम भएर जानेछन् । धेरैका लागि यो राजनीतिक पसल चलाउने हतियार बन्न पुगेको छ । हामीले यसमा गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ ।

    राज्यको सिस्टम डिजिटलाइज्ड गर्ने र प्रभावकारी डकुमेन्टेसनमा ध्यान दिने हो भने सुशासनका सवालमा हामी धेरै हदसम्म फड्को मार्न सक्छौं । त्यस्तै राजनीतिज्ञहरू जवाफदेही अनि कर्मचारीतन्त्र पारदर्शी हुने हो भने पनि सुशासनको लक्ष्य भेट्टाउन गाह्रो छैन ।

    विकास निर्माणका सवालमा भने अहिले सार्वजनिक खरिद ऐन लगायत विद्यमान थुप्रै कानुनहरू परिमार्जनको खाँचो छ । म यी कानुनहरू परिमार्जनका लागि विषेष पहल गरिरहेको छु ।

    . तपाईको प्रतिस्पर्धा कुन दल वा उम्मेदवारसँग हुँदैछ? जित्ने आधारहरु के के छन् ?

    मेरो प्रतिस्पर्धा कसैसँग छैन । तर अन्य उम्मेदवारहरू मसँग प्रतिस्पर्धामा आउन खोजिरहनुभएको छ । जनताको सुरुदेखिकै मुड हेर्दा अन्य उम्मेदवारहरूबीच दोस्रो को हुने भन्ने प्रतिस्पर्धा छ । मैले उठाएको मुद्दालाई जनताले विश्वास गर्नुभएको छ । म सुरुदेखि नै धार्मिक तथा सामाजिक सद्भाव, एकतालाई अनि जनसेवा र विकास निर्माणलाई आफ्नो कर्म बनाएर अघि बढेको मान्छे हुँ । म योभन्दा दायाँबायाँ लाग्दैन भन्नेमा जनता विश्वस्त छन् । फेरि अहिले मैले दिएको नारा अहिलेको परिप्रेक्षमा निकै सान्दर्भिक पनि छ । सामाजिक सद्भाव खल्बल्याउन खोज्ने, धार्मिकरूपमा जनताको कित्ताकाट गर्न खोज्ने, सामन्तवाद र निरंकुशताको पक्षपोषण गर्ने अनि विकासका काममा अवरोध गर्न खोज्नेहरूकाविरुद्ध मेरो उम्मेदवारी हो । जनता नकारात्मक सोच भएकाहरूका पछाडि लागेर प्रतिगमनलाई प्रोत्साहन पक्कै गर्दैनन् ।

    अर्को कुरा, संसद भएपछि नै आफ्नो निर्वाचन क्षेत्रमा एक खर्बभन्दा बढी लगानीको रासायनिक मल कारखाना खोल्ने जस्ता हावादारी आश्वासन मैले बाँडेको छैन ।  मैले विगतमा गरेका कामहरू जनताले देखेकै छन्। निर्वाचनमा जित्न यिनै आधारहरू काफी छैनन् र ! तपाईं लेखेर राख्नुस्, यो पटक बाँके-२ मा नयाँ इतिहास रचिन्छ । यो क्षेत्रबाट लगातार दुईपटक प्रतिनिधि सभा सदस्य चुनिने व्यक्ति इश्तियाक राई हुँदैछ ।

     

  • ३० कार्तिक २०७९, बुधबार १८:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित