नेपालगन्ज : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार बाँकेमा ६६ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत धनसिंह महरले ६६ प्रतिशत मत खसेको जानकारी दिए । बाँकेमा १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिला गरी कुल ३ लाख ३२ हजार २ सय ३१ जना मतदाता थिए ।
आइतबार बिहान ७ बजेदेखी सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । मत पेटिका संकलन गर्ने क्रम चलिरहेकाले मत गणना गर्ने विषयमा अहिलेसम्म छलफल नभएको बताए । ‘सबै मत पेटिका जम्मा गरिसकेपछि सर्बदलिय बैठक राखेर उहाँहरुबाट प्राप्त सुझावका आधारमा मत गणना सुरु गर्ने हाम्रो योजना छ,’ उनले भने । सम्भव त सोमबार बिहानबाट मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाँकेमा कुल ३ सय ८० वटा मतदान केन्द्र राखिएको थियो । बाँकेका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका थिए । जिल्लाभर ४ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । यस्तै ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको थियो ।
क्षेत्र नम्बर १ को अगैया, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयमा गणना गरिनेछ ।