नेपालगञ्ज, मंसिर १३ । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताए ।
“पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ,” उनले भने-“दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।” उनले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने गरी आफूले काम गर्ने बताए । “सुशिल दाईले एडिबी ल्याएर नेपालगञ्जको विकास गर्नुभयो, बाँके बर्दियामा अन्य आयोजनाहरु पनि सुरु गर्नुभयो, अब सुशिल दाईले सुरु गरेका आयोजनालाई गति दिने काम म गर्छु ।”
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विजयी भएका उम्मेदवाहरुलाई बधाई ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गरे ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले सिट बाँडफाँड र टिकट वितरणमा ढंग नपुर्याउँदा गठबन्धनले साचे अनुरुपको परिणाम ल्याउन नसकेको बताए । उनले यसअघिका चुनावमा पार्टीलाई घात गरेको आरोप लागेर कारावाहीका लागि सिफारिस भएका नेताहरुलाई समानुपातिकतर्फ सांसद बनाउन नहुनेमा जोड दिए ।
उनले भने-“अनुशासनको कारवाहीका लागि सिफारिस भएकाहरु सांसद बन्न हुँदैन, यसले अराजकता बढाउँछ, म सहमहामन्त्री ज्यूलाई भन्न चाहन्छु, त्यस्ता मान्छेलाई सांसद बनाउँदा पार्टीमा झन अनुशासनहिनता बढ्छ ।” उनले स्थानीय र संघ तथा प्रदेशको चुनाव सकिएको भन्दै नेपाली कांग्रेस बाँके अब संगठन बनाउन केन्द्रित हुने बताए ।
सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित सदस्यद्वय बादशाह कुर्मी र कृष्णा केसी नमुना लगायतले बोलेका थिए । कार्यक्रममा नवनिर्वाचित राठौर, कुर्मी र नमुनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए