धारा आठौं नेपालगञ्ज म्याराथनकाे उपाधि त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेन्डमा ४२ किलाेमिटर पूरा गरी उपाधि हात पारेका हुन् । गत वर्ष खड्का चाैथाे भएका थिए ।
आर्मीकै नरेन्द्र रावत दाेस्राे भए । गत वर्ष पनि उनी उपविजेता नै भएका थिए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी पार गरे । आर्मीकै मोहनदेव जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरे । चाैथाे भएका कमलराज तिमल्सिनाले २ घन्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पार गरे ।
उपाधि विजेता खडकले १ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाए । दोस्रो भएका नरेन्द्रले ६० हजार, तेस्रो भएका मोहनदेवले ३० हजार, चौथो भएका कमलराजले १५ हजार रुपैयाँ पुरस्कार रपाए ।
महिला हाफ म्याराथनको उपाधि सन्ताेषी श्रेष्ठले जितिन् । उनले १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् । अघिल्लाे संस्करणकाे उपाधि पनि उनैले लगेकी थिइन् । विजेता उनले ६० हजार रुपैयाँ, पदक र प्रमाण पत्र प्राप्त गरिन् ।
यसैगरी १ घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पार गरेकी अञ्जली चौहान दोस्रो भइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार पाइन् । अञ्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेर तेस्रो स्थान सुरक्षित गरिन् । अन्जुले १५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । ५ किलोमिटर खुल्ला (महिला) मा पुलिसकी राजपुरा पछाई पहिलाे, राममाया बुढा दोस्रो र विमला कार्कीले तेस्रो स्थान हासिल गरे ।