नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा निधन भएको छ । ८९ वर्षीय शाह लामो समयदेखि मुटु रोगबाट ग्रसित थिए । उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो ।
एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो । उनको उपचार डाक्टर पंकज जलान र डाक्टर राजीव झाले गरिरहेका थिए । शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनी लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे ।
उनी संघको नेतृत्वमा आउनुअघि राष्ट्रिय खेलाडी समेत थिए । उनले ४० वर्ष नेतृत्व गरेको नेपाल क्रिकेट संघ गत वर्ष आइसीसीको निलम्बनमा परेपछि अहिले अपांग भएको छ । गत भदौ ६ गते काठमाडौंमा सम्पन्न नेपाल क्रिकेट संघको बिशेष साधारणसभामा बिशेष अतिथिको रुपमा उपस्थित भएका उनले क्रिकेटको भविश्यप्रति चिन्ता जाहेर गरेका थिए ।