मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्षेत्र नम्बर १ मा तात्यो चुनावी माहोल मतदातासँग विश्वास जित्दै लोकतान्त्रिक गठबन्धन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मंसिर १ / प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी लोकतान्त्रिक गठबन्धनले बाँकेको क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई व्यापक रुपले अगाडी बढाएको छ । उक्त क्षेत्रमा प्रतिनिधी सभाका लागी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका सशक्त उम्मेदवार माधवराम खत्री, प्रदेश सभा ‘क’ मा सरदचन्द्र बर्मा र ‘ख’ मा नारायणप्रसाद गौडेल चुनावी मैदानमा छन् । तीनै जना उम्मेदवारले अचेल दिनहुँ जसो घरदैलो, सभा, भेटघाट मार्फत मतदाताको मत जित्न थालेका हुन् ।
    उक्त क्षेत्रमा नेपाली काँग्रेसले २०५६ सालयता जित्न नसकेको अवस्थामा यसपटक क्षेत्र नम्बर १ को तीन वटै सिट ल्याउने लोकतान्त्रिक गठबन्धनको रणनीति छ । सोही रणनीति अनुसार उम्मेदवारहरु कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा पुगेर यसपटक काँग्रेसलाई जिताउन आग्रह गर्ने गरेका हुन् । यसअघि दुई पटक माओबादी र एमालेलाई भोट हालेपनि कुनै विकास गर्न नसकेको भन्दै क्षेत्र नम्बर १ का मतदाताले नेपाली काँग्रेसलाई जिताउने प्रतिवद्धता जनाएको प्रतिनिधी सभाका उम्मेदवार खत्रीले बताए ।


    बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित बैजापुरमा आयोजित लोकतान्त्रिक गठबन्धनको भेलालाई सम्बोधन गर्दै उम्मेदवार खत्रीले आफुलाई यसपटक आम मतदाताले जिम्मेवारी दिने विश्वास गरे । ‘विगतमा जितेर गएका सांसदको काम हाम्रो क्षेत्रका मतदाताहरुलाई थाहा भएकै छ, क्षेत्र नम्बर १ का जनताले यसपटक हामीलाई जिताएर जिम्मेवारी दिनुहुनेछ, त्यसपछि हामीलाई खबरदारी गर्नुहोला र कामको मुल्यांकन गर्नुहोला,’ खत्रीले भने । २०५६ सालयता नेपाली काँग्रेसले यो क्षेत्रमा अवसर नपाएकाले यसपटक पाउनुपर्ने उनको माग छ ।
    आफु कुसुम गाउँमै जन्मेर हुर्केको व्यक्ति भएको हुनाले क्षेत्र नम्बर १ का जनताको वास्तविक पीडा बुझ्न सकेको उनले जोड दिए । वाम गठबन्धनले मुलुकमा साम्यवाद ल्याउने उद्घोष गरेको बताउँदै उनले प्रत्येक मतदातालाई साम्यवादको बेफाईदाबारे बुझाउन घरदैलोमा हिड्ने नेता कार्यकर्तालाई आग्रह गरे । ‘यदी नेपालमा साम्यवादी व्यवस्था लागु गरियो भने लोकतन्त्र रहदैन, कसैलेपनि आफ्ना मनमा लागेका कुरा खोल्न पाउँदैनन, यो कुरा जनतालाई बुझाउन जरुरी छ,’ उनले भने । सो अवसरमा बोल्दै प्रदेश सभा–१ ‘क’ का उम्मेदवार बर्माले नेपाली काँगे्रसले सबै समुदायलाई निर्वाचनमा स्थान दिएको बताए । ‘नेपाली काँग्रेस यस्तो पार्टी हो, जसले सबै जाती, भाषा, धर्मलाई सम्मान गर्छ,’ उनले भने ।
    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्तीसोनारी गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई दिएको अमुल्य मतलाई आफुले सधै सम्मान गर्ने बताउँदै यसपटक पनि लोकतान्त्रिक गठबन्धनमा रहेका काँग्रेसका उम्मेदवारलाई जिताउन गाउँपालिकाबासीलाई आग्रह गरे । ‘जसरी राप्तीसोनारी गाउँपालिकामा हामीलाई जिम्मेवारी दिनुभयो, त्यसरी नै प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पनि काँग्रेसका उम्मेदवारलाई जिताउनुस्,’ उनले भने । आफुसँग बिचार मिल्ने व्यक्ति प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचित भएपछि गाउँपालिकाको समग्र विकास गर्न सहज हुने बताए । अबको पाँच वर्षभित्रमा राप्तीसोनारी गाउँपालिकाका प्रत्येक टोलमा रहेका करिव ८० प्रतिशत सडक तथा गल्ली कालोपत्रे गर्ने आफ्नो दिर्घकालिन योजना रहेको अध्यक्ष थारुले खुलासा गरे ।

    ‘निर्वाचन भएर आईसकेपछि हामीलाई कानुनी कुराले काम गर्न केही समस्या भएको हो, प्रतिनिधी र प्रदेश सभाको निर्वाचनपछि हामी गाउँपालिकाको कामलाई तिब्र रुपले अगाडी बढाउँछौं,’ उनले भने । भेलाले लोकतान्त्रिक गठबन्धनको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ मा वडाअध्यक्ष गंगाराम चौधरी र वडा नम्बर ४ मा वडाअध्यक्ष कान्छा थारुको संयोजकत्वमा निर्वाचन परिचालन एवम् प्रचार–प्रसार समिति निर्माण गरेको छ । भेलामा ठुलो संख्यामा नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता उपस्थित भएका थिए ।

     

     

  • १ मंसिर २०७४, शुक्रबार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित