मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्टहरुले गरिरहेका छन् कांग्रेस नेता खाँण
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्टहरुले नै गरेको बताउनुभएको छ ।
    नेपाली कांग्रेसको केन्द्रीय मिडिया सेन्टरद्धारा शुक्रबार ललितपुरमा आयोजित विचार निर्माता बुद्धिजीवीहरुसंगको भेटघाट कार्यक्रममा संबोधन गर्दै नेता खाँणले सो कुरा बताउनुभएको हो ।
    “राष्ट्रको एक भूभागमा बस्ने नागरिकलाई अपमानित गर्ने, उनीहरुलाई लाञ्छना लगाउने र विदेशीसंग जोडेर भड्काउदा राष्ट्र बलियो हुँदैन” नेता खाँणले भन्नुभयो “ यस्तो भौगोलिक, जातीय,सांस्कृति र धार्मिक विविधता बोकेको मुलुकमा सबैलाई समेट्दा नै राष्ट्रियता बलियो हुन्छ ”।
    कांग्रेस नेता खाँणले अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने उत्तिकै खतरा रहेको बताउदै भन्नुभयो,“ पार्टीको स्थापनाकालदेखि नै यहाँको विविधतालाई समेटर सबैलाई जोड्ने कांग्रेसको राष्ट्रियता प्रेम सबैभन्दा बढी छ ।”
    उहाँले नेपाली कांग्रेसले देशको कुनैपनि भूभाग वा जात जाति वा आदिवासी जनताले उठाएको मुद्दालाई संकीर्ण दायराबाट नहेरी राष्ट्रिय विषय बनाएर समाधान खोज्ने गरेको पनि बताउनुभयो । उहाँले मधेशका जनताले सीमा क्षेत्रमा विभिन्न कष्ट सहेर राष्ट्रको सीमा र भूमिको रक्षा गरिहेको पनि दावी गर्नुभयो ।
    “दक्षिणतिरको सीमा क्षेत्रमा बसेका जनताले पानीको प्राकृतिक निकासको समस्या र डुबानको समस्या झेलेका छन्” नेता खाँणले बताउनुभयो “ मधेश खण्डित हुँदा न पहाड शक्तिशाली हुन्छ न हिमाल, नत काठमाडौ उपत्यका नै । मधेश खण्डित हुँदा राष्ट्रियता कमजोर हुन्छ ।”
    नेता खाँणले कम्युनिष्टहरुले जसरी अधिनायकवादी शासन आउने उद्घोष गरेका छन, त्यो नै लोकतन्त्रकोलागि चुनौति बनेको पनि उल्लेख गर्नुभयो ।
    कार्यक्रममा प्राध्यापक केशवानन्द गिरिले कम्युनिष्टहरुको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र कांग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने पनि बताउनुभयो ।
    अर्का सहभागी डा.लोक भट्टराईले कम्युनिष्टहरुले ५० बर्ष शासन गर्ने जुन अभिष्ट सार्वजनिक गरेका छन्,त्यो नै अधिनायकवादको जड् भएको बताउनुभयो । उहाँले स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने पनि बताउनुभयो ।
    त्यस्तै प्राध्यापक डा गोविन्दमान सिंह कार्कीले कम्युनिष्टहरुले साम्यवादको कुरा उठाएकोले यो चुनाव नेपाली कांग्रेसका लागि सहज भएको बताउनुभयो ।
    पूर्व प्रशासक तथा लेखक जैनेन्द्र जीवनले नेपाली कांग्रेसले ल्याएका आर्थिक विकास र समृद्धिका विषय सान्दर्भिक भएको बताउनुभयो ।
    कार्यक्रममा डा. उद्धव प्याकुरेलले कम्युनिष्टहरुले आफ्नो बहुमत हुँदा पनि स्थिरता दिन नसकेको उल्लेख गर्दै भन्नुभयो,“ पहिलो संविधानसभामा माओवादी बहुमतमा थियो तर प्रचण्डको सरकार ९महिना टिकेन, प्रचण्डको विकल्पमा बाबुराम उदाए, माधव नेपालको विकल्पमा झलनाथ खनाल आए । चारवटा प्रधानमन्त्री हुँदा समेत संविधान दिन सकेनन् । र दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो दल भएपछि कांग्रेसको नेतृत्वमा बनेको पहिलो सरकारले नै संविधान दिन सक्यो ।” उहाँले नेपाली कांग्रेसप्रति जनता आश्वस्त र विश्वस्त हुने पर्याप्त आधार भएको पनि उल्लेख गर्नुभयो ।
    कार्यक्रममा पूर्व राजदूत डा. जयराज आचार्यले संविधानको प्रस्तावना फेर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा ल्याउने र ५० बर्ष शासन गर्ने कुरा ल्याएर अधिनायकवादतर्फ जाने उद्घोष गरेकोले लोकतन्त्रवादी र स्वतन्त्रताप्रेमी नेपालीहरुको मत अहिले नेपाली कांग्रेसमा आउने बताउनुभयो ।
    कार्यक्रममा प्रखर बुद्धिजीवी तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा देव कुमारी गुरुङ् र प्राध्यापक पञ्चनारायण महर्जन लगायतले कम्युनिष्ट अधिनायकबादका विरुद्धमा जनमत सिर्जन ागर्न कांग्रेसलाई सहज भएको बताउनुभएको थियो ।
    नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसार अभियानलाई सहयोग पुर्याउदै सञ्चारकर्मीहरु समक्ष पार्टीका दस्तावेज र गतिविधिहरुलाई पुर्याउन केन्द्रीय प्रचारप्रसार समिति अन्तरगत केन्द्रीय र प्रादेशिक मिडिया सेन्टरहरु सञ्चालनमा ल्याएको छ । केन्द्रीय मिडिया सेन्टरले विचार निर्माता र पत्रकारहरुका बीचमा संवाद गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।

  • २ मंसिर २०७४, शनिबार ०९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित