नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर शनिवार आयोजना गरिएको तीज उत्सवमा सयौंको संख्यामा उपस्थित दर्शक तथा नगरवासीहरु रमाएका छन् । कार्यक्रमबाट शनिवार कोहलपुर नगरपालिकाकी उप–मेयर सञ्जु कुमारी थारुले ले सम्पूर्ण हिन्दु नारीहरुलाई तीजको शुभकामना दिँदै आफ्नाे मौलिक संस्कृती जर्गेना गर्न आयोजित यस्ता कार्यक्रमहरुलाई सबैले सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उनले उत्सवलाई पानमा दिप प्रज्वलन गर्दै समुद्घाटन गरिन् ।
कार्यक्रममा विशेष गरी तीज गीतबाट देशभरमै चर्चा कमाएका राष्ट्रिय कलाकारहरुले शनिवार कोहलपुरको ज्ञानज्योती मा.वि. प्राङ्गणलाई तीजमय बनाए । ‘हङ्कङ्को साडीले नेपालको धुलो उडायो…’ गीतबाट चर्चा कमाएका गायक तिलक वलीले आफ्नो सांगितिक प्रस्तुतीबाट कोहलपुरका महिलाहरुलाई नाँचेर धुलो उडाउन बाध्य बनाए । उनले तीज विशेष आफ्ना चर्चित गीतहरु गाउन शुरु गरेलगत्तै उपस्थित दर्शक तथा नगरवासीहरु आफुलाई थाम्न सकेनन् र नाँचेर साथ दिए ।
यस्तै कोहलपुरकी चेली तथा राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल गायिका सपना शाहीले पनि उपस्थित दर्शक तथा उत्सवका सहभागीहरुलाई नचाएरै छाडिन । उनले कोहलपुर आफ्नो कर्मथलो भएको र कोहलपुरको अपार माया र सद्भावकै कारण आफु गीत संगीत क्षेत्रमा सफल भएको बताउँदै तीजको उत्सवमा सहभागी सबैलाई नाँच्न आग्रह गरिन् । आफ्नै चेलीले गरेको आग्रहलाई सहर्ष स्वीकार्दै दर्शक तथा उपस्थित नगरवासीहरुले उनका गीतमा नाँचेर भव्य साथ दिए ।
यस्तै कार्यक्रममा चर्चित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु शान्ति सुनार, भावना आचार्य, राजु सुनाम, गणेश विष्ट, भिमा पुनले तीज उत्सवमा आफ्ना गीतमार्फत दर्शक तथा नगरवासीहरुलाई भब्य मनोरञ्जन प्रदान गरेका थिए । राष्ट्रिय कलाकारको प्रस्तुती सँगै उत्सव आयोजक संस्था बागिना कला केन्द्रका कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
“कोहलपुरको सौन्र्दयता हाम्रो शान, धर्म संस्कृती जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ आज कोहलपुरमा तिज महोत्सव आयोजना गरिएको उत्सव संयोजक विरेन्द्र सिंहले बताए । कार्यक्रमलाई थप रौनकता दिँदै चर्चित रेडियोकर्मी, संगीतकार, गायक तथा उद्घोषक कमल वि.क. निर्मोहीले आफ्नाे पुराना चर्चित गीत सँगै कार्यक्रम उद्घोषण गरे । निर्मोेहीलाई उद्घोषणमा कोश बहादुर खड्काले साथ दिएका थिए । कार्यक्रममा सफल पार्न मुख्य प्रायोजन गरेको बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष बालकृष्ण दियालीले संस्कृती जर्गेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले यस्ता मौलिक कला, संस्कृति जर्गेनाका लागि आयोजना हुने कार्यक्रम तथा सामाजिक कार्यक्रममा संघले सदैव सहयोगी हात अगाडी बढाउने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रम आयोजक संस्थाका संदस्थाका अध्यक्ष गणेश विष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।