नेपाली कांग्रेसका सात जना युवा नेताहरुले पार्टी पुनर्जागरण अभियान सुरु गर्दै तत्काल तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन माग गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा पार्टी पराजयको समीक्षा र पार्टीको भावी रणनीति बनाउन तत्काल बैठक बोलाउन माग गरेका हुन्।
केन्द्रीय सदस्यहरू गगन थापा,चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेले संयुक्त रुपमा यस्तो माग गरेका हुन्। पार्टी नेतृत्वकै कमजोरीले निर्वाचनमा नेपाली कांग्रेस कमजोर भएको उनीहरुको निष्कर्ष छ।
विज्ञप्तीमा उनीहरुले प्रश्न गरेका छन्–‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन? पार्टीका सबै तहदेखि भ्रातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन? निर्वाचन दौरानमा प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?’ यी प्रश्नको जवाफ खोज्नका लागि पनि तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन उनीहरुको माग छ। ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्ने छौं । राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउने छौं’ विज्ञप्तीमा भनिएको छ।
उनीहरुले आपसी द्वेष, गुटगत भावना, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुदृढ र आधुनिक कांग्रेसको बलियो आधारशिला खडा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।