२० पुस, काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको छ ।
प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रदेश १ मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो ।
प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।
क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन कांग्रेससहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
नेपाली कांग्रेससहित राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको थियो ।