मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लालुलाई साढे तीन वर्ष जेल सजाय
  • मार्गरेखा संवाददाता

  • भ्रष्टाचार अभियोगमा बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुप्रसाद यादवलाई अदालतले साढे तीन वर्ष जेल सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ । दोस्रो चारा घोटाला काण्डमा लालुलाई दोषी ठहर गर्दै झारखण्डको केन्द्रीय जाँचबुझ निकाय सिबिआई अदालतले शनिबार सो सजाय तोकेको हो । लालुमाथिको सुनुवाइ दुई वर्षदेखि चलेको थियो । न्यायाधीशले भिडियो कन्फरेन्समार्फत लालुमाथिको सजाय सुनाएका थिए । चारा घोटालामा दोषी पाइएपछि लालु दुई सातादेखि झारखण्डको राँचीमा रहेको बिर्सा मुन्डा जेलमा थिए । सिबिआईको अदालतले लालुसहित १५ जनालाई दोषी ठहर गरेको थियो ।

    ‘भाजपाले प्रतिशोध लियो’

    आफूमाथि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक प्रतिशोध लिएको लालुले आरोप लगाएका छन् । गत वर्ष बिहारका मुख्यमन्त्री नीतीशकुमारले लालुको पार्टी आरजेडी र कंग्रेससँगको गठबन्धन तोड्दै भाजपाको सहयोगमा सरकार गठन गरेका थिए । भाजपा अध्यक्ष अमित साह र प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नीतीशले गठबन्धन तोडेको लालुले आरोप लगाउँदै आएका थिए । लालुको आरोपलाई भारतीय जनता पार्टी र बिहारका मुख्यमन्त्री नीतीशकुमारले अस्वीकार गर्दै आएका छन् ।

    कानुनको नजरमा कोही पनि उम्कन नपाउने उनीहरूले बताउँदै आएका छन् । फैसलापछि भाजपाका वरिष्ठ नेता सहनवाज हुसेनले बिहारी जनताले न्याय पाएको टिप्पणी गरेका छन् । ‘बिहारी जनताले ढिलै भए पनि न्याय पाएका छन् । कानुन जोकोहीलाई पनि लागू हुन्छ, कानुनको नजरमा कोही ठूलो र सानो हुँदैन भन्ने सन्देश शनिबारको फैसलाले दिएको छ,’ हुसेनले भने ।

    दोस्रोपटक दोषी

    लालुलाई चारा काण्डमा सन् २०१३ को सेप्टेम्बर ३० मा पहिलोपटक अदालतले दोषी ठहर गरेको थियो । सोही वर्षको अक्टोबर ३ मा लालुलाई पाँच वर्ष कैदको सजाय तोकिएको थियो । तर, सो सजायविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । दुई महिना जेलमा बसेपछि सर्वोच्च अदालतको आदेशमा उनी जमानतमा रिहा भएका थिए । दोषी ठहर भएपछि संसद् सदस्यबाट राजीनामा दिएका थिए । अदालतको फैसलापछि कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य साबित भएका थिए । डिसेम्बर २३ मा सिबिआई अदालतले बिहारका अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र र अन्य पाँचजनालाई सफाइ दिएको थियो । सो मुद्दामा अदालतले चारजनालाई दोषी ठहर गरेको थियो ।

    सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो । चारा निकासीका लागि नौ सय ५० करोड घोटाला भएको थियो । सो समयमा लालु बिहारका मुख्यमन्त्री थिए । मुद्दा लगाइएकामध्ये ११ जनाको मृत्यु भइसकेको छ ।

    पुनर्विचार गर्न आग्रह

    बिहीबार अदालत पुगेका लालुले जेलभित्रको दैनिकी कष्टकर बनेको र स्वास्थ्यका कारण दर्साउँदै छिट्टै रिहा गरिदिन न्यायाधीशसमक्ष आग्रह गरेका थिए । ‘प्रत्यक्ष रूपमा चारा घोटालामा मेरो कुनै भूमिका छैन । मेरो उमेर र गिर्दो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै ममाथिको सजायबारे पुनर्विचार होस्,’ लालुले भनेका थिए । त्यस्तै, लालुका वकिल चित्तरञ्जन सिन्हाले लालुको स्वास्थ्यमा गम्भीर समस्या भएको बताएका थिए । स्वास्थ्यका कारण वयोवृद्ध नेतामाथि हुन सक्ने सजायमा हदैसम्म कटौती हुने उनले विश्वास गरेका थिए । दुई साताअघि अदालतले लालुसहित चारा घोटालाका १६ मुख्य दोषीलाई पक्राउ गरी लालुलाई हिरासतमा लिएको थियो । लालुप्रसादले आफूलाई भारतीय जनता पार्टीले फसाएको आरोप लगाउँदै आएका थिए ।

    पुनरावेदन गर्छोैं : तेजस्वी यादव

    लालुका छोरा तथा आरजेडी नेता तेजस्वी यादवले अदालतको फैसलाविरुद्ध उच्च न्यायालय र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् । ‘लालुले घुँडा टेक्नेछैनन् । उनी आफ्नो आदर्शप्रति कटिबद्ध छन् । हामी उच्च न्यायालयमा जानेछौँ र जमानतमा रिहाइका लागि निवेदन गर्नेछौँ,’ तेजस्वीले भने । लालुका पार्टीका नेताहरूले लालुलाई तीन वर्षभन्दा कम अवधि जेल सजाय हुने र उनी जमानतमा रिहा हुने अनुमान गरेका थिए ।

    लालु अब जमानतमा रिहा हुने सम्भावना नरहेको कानुनविद्हरूले बताउँदै आएका छन् । यसअघि अदालतले फैसला सुनाउनुअघि तेजस्वीले न्यायपालिकाप्रति आफ्नो पूरा विश्वास रहेको र न्यायपालिकाले आफ्नो कर्तव्य पूरा गर्ने विश्वास व्यक्त गरेका थिए । यसै साता लालुबारे भएका सुनुवाइ दुईपटक स्थगित भएको थियो ।नयाँ पत्रिकाबाट

  • २३ पुष २०७४, आईतवार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित