नेपालगन्ज ५ फागुन । बाँकेको डुडुवा गाउँपालिकाको पञ्चवर्षिय अद्यावधिक रणनितिक योजना तयार गरिने भएको छ । गाउँपालिकाको समस्याको पहिचान गरि समग्र विकासका लागि रणनितिक योजना तयार गर्न लागिएको हो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाढी प्रकोपको अवस्थालाई चित्रण गरि समाधानको योजनासहितको योजना तयार गरिने गाउँपालिकाले जनाएको छ । सोका लागि घरधुरी सर्वेक्षण सम्वन्धी दुई दिने अभिमुखीकरण आजदेखि नेपालगन्जमा शुरु भएको छ ।
अभिमुखीकरणको उदघाटन गर्दै गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले गाउँपालिका अन्र्तगतका सम्पुर्ण परिवारहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको पहिचान गरि तथ्यांक संकलन गरि अनलाईन प्रर्णालीमा सुरक्षीत राखिने बताउनुभयो ।
उहाँका अनुसार नमुना गाउँपालिका बनाउनका लागि सबैभन्दा पहिले गाउँपालिकाको प्रोफाईलको आवश्यकता रहेकाले तथ्याक संकलन शुरु गरिएको हो । उहाँले जनताको माग बमोजिम सरल र सहज तरिकाले सकेसम्म घरमै सबै सेवा पुरयाउने लक्ष्यका साथ आगामी योजना निमार्ण गर्न लागेको बताउनुभयो ।
अभिमुखीकरणको उदघाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल, प्रेस सल्लाहकार राकेशकुमार मिश्र, वडा सचिवद्धय मानबहादुर बोगटी र ऋषिराज गौतमले रणनितिक योजनाका विषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।
भोलीसम्म संचालन हुने अभिमुखीकरणमा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वडाका गरि ६० जना सकंलनकर्ताको सहभागिता रहेको छ । कार्यक्रममा विषयगत विवरणको परिभाषा, औचित्य, कानूनी आधार, प्रक्रिया, मौलिक विषयबस्तु, लगायतका विषयमा अधिबक्त प्रभाकर भट्टराईले सहजीकरण गर्नुभएको छ । अभिमुखीकरण पश्चात गाउँपालिकाले संकलनकर्तालाई समुदायमा पठाएर सर्वेक्षणको कार्य शुरु गर्नेछ ।