नेपालगन्ज २२ फागुन । बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । गाउँपालिकाको वार्ड नं. १ होलियाबाट आज मंगलबारदेखि घर नंम्बर कायम गरि नम्बर प्लेट टाँस्न शुरु गरिएको हो ।
स्थानीय प्रेमा बर्माको घरबाट सो अभियान शुरु गरिएको हो । अभियानको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शुभारम्भ गर्दै यसले गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भई अधिकारिक हुने बताउदै हरेक सेवासुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा सहयोग पुग्ने बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा १ नम्बरका वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सचिव देवीलाल चौलागाई लगायतको उपस्थिती रहेको थियो । आजैदेखि घरधुरी सर्भेक्षण समेत शुरु गरिएको छ । गाउँपालिकाको पञ्च वर्षिय अवधिक योजना निमार्ण तथा प्रोफाईल तयार गर्नका लागि घरधुरी सर्भेक्षण थालिएको हो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाल तथा मातृ मृत्युदर, बाढी प्रकोपको अवस्थाका विषयमा पहिचान गरि सोही अनुरुप योजना तयार गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले बताउनुभयो ।
उहाँका अनुसार होलियाबाट शुरु भएको सर्भेक्षणको कार्य गाउँपालिकाको ६ वटै वडामा गरिनेछ । होलियाबाट शुरु भएको सर्भेक्षणको कार्य भोलीदेखि अन्य वडामा पनि तथ्यांक संकलन गरिने छ । सो सर्भेक्षणका लागि ६० जना तथ्याक संकलनकर्ता परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।