नेपालगञ्ज, चैत १२ गते । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले स्थानीय तहका कार्यपालिकाका सदस्य र वडापालिकाका सदस्यहरुले पारीश्रमिक माग गर्दै गरिरहेको आन्दोलनमा सहभागी नहुन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।
नेकपा एमाले स्थानीय निकाय विभागले सोमबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधीका लागि आयोजित मुख्यमन्त्रीसँगको संवाद कार्यक्रममा मुख्य मन्त्री पोख्रेलले स्थानीय तहका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको भूमिका नै फरक रहेको बताए ।
मुख्य मन्त्री पोख्रेलले कार्यपालिका सदस्य र वडा सदस्यले पारश्रमिक पाएपनि स्थानीय तहको स्रोतबाट कट्टा हुने भन्दै त्यस बिषयमा छलफलबाट निर्णयमा पुगिने बताए । स्थानीय तहमा नेकपा माओवादीको नाममा फैलाइएको चन्दा आतंकका बिषयमा जनप्रतिनिधिले ध्यानाकर्षण गराएपछि मुख्य मन्त्री पोख्रेलले त्यसलाई सरकारले नियन्त्रणमा लिई स्थानीय तहमा शान्तिपूर्ण काम गर्न पाउने अवस्था बनाउने बताए । कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव तथा स्थानीय निकाय विभागका संयोजक प्रमोद धितालले स्थानीय तहलाई पार्टीसँग समन्वय गरेर महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन, जिल्ला अध्यक्ष अशोक कोइराला, प्रदेश सभा सदस्य बाबुराम गौतम, जिल्ला उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत उपस्थित थिए ।