बाँके(अगैया) , बैशाख ९
राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्मा (कुसुम)का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोगमा वडा कार्यालयले जेष्ठ नागरिकलाई आइतबार एक समारोहका बीच सम्मान गरेको हो ।
वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीको सभापतित्व एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आतिथ्य तथा उपाध्यक्ष धनीकुमारी खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उक्त कार्यक्रममा कुल १ सय ११ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतले सम्मान स्वरुप जेष्ठ महिलालाई छाता, धोती, ब्लाउज, बर्की र नगद तथा जेष्ठ पुरुषलाई सम्मान स्वरुप छाता, गम्छा र कमिज सुरुवालको कपडा हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले बुढेशकालमा बृद्ध आमा बुवालाई परिवारको पनि माया र सम्मान चाहिने बताउनु भयो । धेरै जेष्ठ नागरिकहरु परिवारको माया नपाएर अपहेलित हुनु परेको उहाँको भनाई थियो । गाउँपालिकाले पनि बजेट छुट्याएर जेष्ठ नागरिकको सम्मान गरेको उहाँले बताउनुभयो । ‘हामीले आफ्नो बुवा आमालाई घरमै मात्र सम्मान दिन सक्यौ भनेपनि धेरै समस्याको समाधान हुन सक्छ, आफु भन्दा मान्यजनलाई सम्मान गर्ने परम्परालाई कसैले पनि भुल्नु हुदैन,’ उहाँले भन्नुभयो ।
यस्तै उपाध्यक्ष खत्रीले जन्मेपछि जो कोही पनि बुढो भएर मर्नुपर्ने अवस्था सुनाउँदै बृद्धबृद्धालाई हेला नगरेर माया गर्नुपर्ने बताउनु भयो । ‘तपाई हामी पनि एक न एकदिन बुढो हुनुपर्छ, त्यसकारण बृद्ध आमाबुवाको सम्मान गर्ने सँस्कार अहिलेदेखी नै सिक्न जरुरी छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा ६० वर्ष पुगेका दलित समुदायका र ७० वर्षमाथीका अन्य समुदायका जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।