नरैनापुर(बाँके),बैशाख २३ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बघौडा भनेर चिनिने बाँकेको विकट नरैनापुर क्षेत्रको मुहार फेर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नरैनापुर गाउँपालिकाले आज गरेको स्वागत कार्यक्रममा गाउँपालिकाका तर्फबाट अध्यक्ष इस्तियाक अहमद शाहले बुझाएको ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले बघौडा अब फेरिने र मुख्यमन्त्रीका हैसियतले आफूले त्यसको अगुवाई गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘पिडा र विरहका गीत गाएर बस्ने दिन सकिन थाल्यो, अब समृद्धिको बाटो तय गर्ने संकल्प बोकेर अघि बढ्नुपर्दछ,’ पोखरेलले भन्नुभयो । ‘बघौडामा छिट्टै बत्ती बल्छ, तपाईंहरु ढुक्क हुनुहोस्, केन्द्रले नगरे अब हामीले गर्छौैं,’ उहाँले दृढता व्यक्त गर्नुभयो । शिक्षा नै बृत्ति विकासको आधार भएकाले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर साक्षर बनाउने अठोट लिन अभिभावकहरुलाई उहाँले आह्वान गर्नुभयो । मुस्लिम समुदायमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता अझैं स्थापित हुन नसकेकाले चुनौति रहेको उहाँको भनाई थियो । राप्ती नदीको बाढीको कहरबाट प्रताडित नरैनापुरबासीलाई सुरक्षित राख्न राप्ती नदीको दायाँ बायाँ दुबैतिर तटबन्ध गर्ने कार्यलाई प्रदेश सरकारले कार्यसूचीमा राखिसकेको जानकारी मुख्यमन्त्रीले दिनुभयो । बाढीबाट बच्न एकीकृत बस्ती विकासको अबधारणासहित खेतीपातिका लागि छुट्टै क्षेत्र छुट्याइनुपर्ने उहाँको भनाई छ । निर्माणाधीन हुलाकी राजमार्गलाई यथाशिघ्र सम्पन्न गर्न प्रदेश सरकारले घच्घच्याउने मुख्यमन्त्री पोखरेलले आश्वस्त पार्नुभयो । लक्ष्मणपुर बाँध र नेपाल भारत सीमामा भारतले पछिल्लो समय बनाएको बाँध जस्तो सडकका कारण बढेको डुबानको जोखिम हटाउन भारत सरकासंग कुटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले बुझाएको ज्ञापनपत्रमा विद्युत समस्या समाधान, बाढीपीडितहरुको पुर्नस्थापना, प्राविधिक शिक्षालय स्थापना, सीमामा भारतले बनाएको बाँधजस्तो सडक, राप्ती पुुलदेखि पूर्वतर्फको १ किलोमिटर क्षेत्रमा अर्को पक्की पुल निर्माण लगायतका माग समेटिएका गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो ।
स्वागत कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का सांसद् महेश्वर गहतराज अथक, प्रदेश सभा सांसद् कृष्णा केसी नमुना र पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवले अभाव र पिडामा बाँचिरहेको नरैनापुरको विकासका लागि मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराउँदै विकासका लागि जनताको जागरुकता पनि चाहिने उल्लेख गर्नुभयो ।