सरकारी लगानीमा मात्र शैक्षिक सुधार आउन नसक्ने कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले बताएकी छिन्।
जनता मा.वि. कोहलपुर ३ मैटहवाको ५७ औं बार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उप–प्रमुख थारुले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार वा बृद्वि गर्न शिक्षक अभिभाव र विद्यार्थीहरुबीचको त्रिकोणात्मक समिकरण आवश्यक पर्ने
बताइन् । अभिभावक, शिक्षक र विद्यार्थीहबीच पारस्परिक सम्बन्ध कायम हुन नसकेमा सरकारी लगानी जति गरेपनि त्यसको प्रभावकारिता शुन्य हुने उनको भनाई थियो ।
थारु बस्तीको वाहुल्यता रहेको समुदायमा सञ्चालित विद्यालय भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा पछाडी परेकाले नगरपालिकाको तर्फबाट विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्वता जनाउँदै कार्यक्रमकी प्रमुख अतिथि समे रहेकी थारुले शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेकी छिन् ।
वार्षिक उत्सवका अवशरमा नगरपालिका उप–प्रमुख एवम् प्रमुख अतिथि थारुले नव निर्मित पक्की ४ कोठे भवनको उद्घाटन समेत गरेकी छिन् । २१ लाख ५० हजार रुपैयाँमा नव निर्मित भवनको उद्घाटन पछि बोल्दै थारुले विद्यालयको नयाँ भवनले विद्यालयको शैक्षिक गतिविधीमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । उनले भौतिक पूर्वाधारको विकासले समग्र विद्यालयको विकास हुनेभएकाले विद्यालयको भौतिक पूर्वाधार विकासमा सरोकारवाला सबैलेसहयोग गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आ.ब. ०७४÷०७५ को ७५ लाख बढिको अनुमानित आय व्ययसार्वजनिक गरे ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष माधव रिजाल, वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस अध्यक्ष होम प्रकाश सुवेदी, शिक्षक नेता बद्रि ढकाल, त्रिभुवन उच्च मा.वि.का शिक्षक अभिभावक संघ अध्यक्ष तेजु भण्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा त्रिभुवनका शिक्षक अभिभावक संघ अध्यक्ष भण्डारीले विद्यालयको पूर्वाधार विकासका लागि २१ हजार रुपैयाँ सहयोग गर्ने उद्घोष समेत गरे । वार्षिक उत्सवका अवशरमा विद्यालयले उत्कृष्ठ अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र छात्राहरुले विविध साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पारशनाथ थारुको सभापतित्वमा सम्पन्न भएको थियो ।