बर्दिया,जेठ,२५। गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित महिला संघ बर्दियाले गठन गरेको अल्पसंङख्य जनजाती तथा दलित महिलाहरुको समुहलाई दलित महिला संघ बर्दियाले रकम हस्तान्तरण गरेको छ । गठन गरेका २० उद्यमशिल महिला समुहहरु मध्ये उत्कृष्ट रुपमा मासिक आय ब्यय तथा सामाजिक जागरणमा सक्रिय रुपमा सहभागी महिला समूह बाट ५ वटा महिला समूहहरुलाई छनौट गरि ३०÷३० हजार रुपैया प्रदान गरीएको हो । उक्त चेक सहितको रकम गुलरिया नगरपालिकाकी उप–प्रमुख शुसिला गिरिले प्रत्येक समूहका कोषाध्यक्षलाई हस्तान्तरण गरेकी हुन । समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद सम्बन्धि दलित महिला जनप्रतिनिधिहरुका लागी क्षमता अभिबृद्धि ३ दिने तालिमको अन्तिम दिन सो रकम हस्तान्तरण गरिएको हो । आगामी नगर सभामा दलित महिलाहरुका सवालहरुलाई सम्बोधन गर्ने खालका कार्यक्रमहरु प्राथमिकताका साथ ल्याउने प्रतिबद्धता उप प्रमुख गिरिले रकम हस्तान्तरण कार्यक्रममा गरेकी हुन ।
वितरण गरिएको रकम महिला उद्यमशिलताका लागी मात्र विउ पूँजीको रुपमा प्रयोग गर्न प्रदान गरिएको दलित महिला संघ बर्दिया की अध्यक्ष हेमा सुनारले बताईन । यस रकमबाट दलित महिलाहरु आर्थिक रुपमा सबल हुने अपेक्षाका साथ प्रदान गरिएको अध्यक्ष सुनारले बताएकी छन् । सो कार्यक्रम फाउन्डेसन फर अ जष्ट सोसाईटीको सहयोग तथा दलित महिला संघ बर्दियाको आयोजनामा गरिएको हो । कार्यक्रमका गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका दलित महिला जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।