नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक मूल्य र मान्यतामाथिको प्रहार नेपाली कांग्रेसलाई मान्य नहुने बताए । नेपाल प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले सरकारले तानाशाही चरित्र देखाएको आरोप लगाएका छन् ।
आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरू उल्टाएर वर्तमान सरकारले मुठभेड निम्ताउन खोजेको उनको अरोप छ । उनले कांग्रेसले यस्तो कदमको कडा प्रतिवाद गर्ने बताए । छिमेकी मुलुक भारत र चीनसामु सरकार लम्पसार परेको आरोप लगाए ।
चीनबाट रेल आउँछ भनेर ओली सरकारले जनतालाई भुलभुलैयामा पारेको उनको दाबी छ । ‘चीनबाट नेपालमा तत्काल रेल आउने सम्भावना नै नभएकाले केपी ओलीले जनतालाई सपना नबाँड्दा हुन्छ,’ उनले भने,‘ ओली सरकार भारतसँग लम्पसार परेको छ । चीनसँगको सम्बन्धमा वर्तमान सरकारले केही पनि गरेको छैन,’ उनले भने ।
सोही कार्यक्रममा बोल्दै देउवाले अब कांग्रेसभित्र कुनै गुट उपगुट नरहने दाबी गरे । शनिबारैै एक कार्यक्रमकाबीच सभापति देउवाले शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापद्वारा वितरण गरिएका ६ वटा एम्बुलेन्सको साँचोसमेत सम्बन्धित नगरपालिका र गाउँपालिकामा गठित एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरे ।
शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिमा छुट्टाछुट्ट एम्बुलेन्स सञ्चालक समिति गठन गरी एम्बलेन्स हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेस रामेछापका महासमिति सदस्यसमेत रहेका प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) ले व्यक्तिगत रूपमा खरिद गरेका ६ वटा एम्बुलेन्स संस्थामार्फत वितरण गरेका हुन् ।
रामेछाप जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका प्रत्यासीसमेत रहेको कान्छाराम तामाङले निर्वाचनका वेला आफूले जनतासँग गरेको वाचाअनुरूप एम्बुलेन्स वितरण गरेको बताए । यसअघि पनि कान्छारामले जिल्ला विभिन्न स्थानमा ४ वटा एम्बुलेन्स प्रदान गरेका छन् ।