मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै आज कांग्रेसले नेपालमाका ७७ जिल्ला र बिदेशमा ३० देशमा प्रर्दशन गदै
  • मार्गरेखा संवाददाता

  • सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारीअनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् ।

     

    जनसम्पर्क समिति कांग्रेससँग आस्था राख्ने विदेशमा बस्नेहरूको समिति हो । जनसम्पर्क समितिहरूलाई महाधिवेशनमा भाग लिने अधिकार पनि कांग्रेसले दिँदै आएको छ । कांग्रेसका नेताहरू विदेश जाँदा जनसम्पर्क समितिमार्फत नै कार्यक्रम हुँदै आएका छन् ।

    विदेशमा किन र कसरी विरोध कार्यक्रम ?
    १५ साउनका कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दै छ । ‘देशदेखि विदेशसम्मबाट सरकारमाथि दबाब बढाउन कांग्रेसले एउटै मितिमा विरोध प्रदर्शनको तयारी गरेको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ पत्रिकासित भने, ‘यहाँ १५ साउन अर्थात् जुलाई ३१ मा विरोधको कार्यक्रम छ ।

    विदेशमा सोही दिन वा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ ।’ आफ्नो अनुकूलमा ती देशका नियम–कानुनभित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिनअघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको जानकारी पौडेलले दिए ।

    ‘सरकार दिनानुदिन अधिनायकवादी शैलीमा अघि बढिरहेको छ । मानिसहरू सुसूचित हुन् भनेर हामीले सरकारको विरोध गर्न लागेका हौँ,’ पौडेलले भने, ‘हामीले जनसम्पर्क समितिहरूलाई आफ्नो अनुकूलको विरोधका कार्यक्रम गर्न भनेका छौँ । उहाँहरूले आफूहरू बसेको देशको कानुन, परिस्थिति र परिवेश हेरेर विरोध गर्नुहुन्छ ।’

    दूतावासअगाडि प्रदर्शनदेखि ज्ञापनपत्र बुझाउनेसम्म
    विरोधको कार्यक्रमअन्तर्गत जनसम्पर्क समितिहरूले सबै देशको दूतावास अगाडि प्रदर्शन गर्ने दाबी कांग्रेसको छ । ‘विदेशमा रहेका नेपालीले पनि सरकारलाई खबरदारी गरिरहेका छन् भन्दै दबाब दिने र कांग्रेसका पक्षमा जनमत बढाउन पनि विरोध प्रदर्शन गर्न लागिएको हो,’ एक नेताले भने ‘विरोधका अनेक शैलीमा हामी कार्यक्रम गर्दै छौँ ।’

    कांग्रेसले गोविन्द केसीसँगका समझदारी कार्यान्वयन, महँगी नियन्त्रण, निषेधाज्ञाको विरोध, सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाको कार्यान्वयनलगायत विषय उठाउन निर्देश गरेको छ । विरोध प्रदर्शनपछि दूतावासमा ध्यानाकर्षणपत्र बुझाउने तयारी कांग्रेसको छ ।

    कुन–कुन देशमा छन् जनसम्पर्क समिति ?
    अस्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानडा, साइप्रस, डेनमार्क, फिनल्यान्ड, जर्मनी, हङकङ, भारत, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाउ, मलेसिया, नेदरल्यान्ड्स, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, साउदी अरेबिया, स्विट्जरल्यान्ड, युएई, बेलायत र अमेरिकामा कांग्रेसका जनसम्पर्क समिति छन् ।

    ७७ वटै जिल्लामा प्रदर्शन गर्दै कांग्रेस
    कांग्रेसले आज (मंगलबार) देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दैछ  । सरकार अधिनायकवादउन्मुख हुँदै गएको भन्दै सचेत गराउन विरोध प्रदर्शन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा गर्न लागेको शर्माले जनाए ।

    मुख्य सहरमा केन्द्रीय नेता जाने
    कांग्रेसले एकैपटक गर्न लागेको विरोध प्रदर्शनमा केन्द्रीय कार्यालयले नेतालाई खटाएको छैन । तर, पनि नेताहरू आफूअनुकूलका जिल्लामा जाने तयारीमा छन् । नेता रामचन्द्र पौडेल तनहुँमा गरिने विरोधसभामा जाँदै छन् भने कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा झापाको चन्द्रगढीमा हुने विरोधसभामा सहभागी हुनेछन् । पदाधिकारीहरू भने जिल्ला जाने कार्यक्रम छैन ।

  • १५ श्रावण २०७५, मंगलवार ०८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित