नेकपाले एक दर्जनभन्दा बढी जिल्लाको नेतृत्व टुंगो लगाएको छ। नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्लास्तरमै बनेको कार्यादलले अहिलेसम्म झन्डै १५ जिल्लाको पार्टी अध्यक्ष टुंगो लगाएका हुन्। प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ।प्रदेश ५ का १२ जिल्लामध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन्। यो प्रदेशबाट जिल्ला अध्यक्ष हुनेहरूको नामसमेत प्रदेश कार्यदललाई सर्वसम्मत सिफारिस भइसकेको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए/
पूर्वएमालेले दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको अध्यक्ष पाएको छ। पूर्वमाओवादीले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको अध्यक्ष पाएको छ। अध्यक्ष पूर्वएमालेले पाएका जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएका जिल्लामा सचिव एमालेतर्फका नेताले पाएका छन्।दाङमा शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोखरेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेल, यी सबै पूर्वएमालेका नेता हुन्।त्यस्तै, बर्दियामा भुवन थारु, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले अध्यक्ष बन्दै छन्। यी नेता भने पूर्वमाओवादीका हुन्।