चर्चित गायिका कोमल ओलीको स्वरमा सन्देशमुलक तीज गीत ‘फेरि तीज आयो बाबा’ बिहिवार सार्वजनिक गरिएको छ ।
हिन्दु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा तयार पारिएको गीत म्युजिक नेपालले युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
स्वाभिमान महिला समुह बाँसगढी बर्दियाको दोस्रो प्रस्तुतीको रुपमा रहेको यो गीत महिलाहरुलाई आत्मनिर्भर र स्वाभिमान बन्न उत्प्रेरणा दिने खालको सन्देश दिन खोजिएको निर्माता शंकर शर्माले जानकारी गराए । ‘तीजको प्रसंगमा आजभोलि बजारमा उच्छृंखल र अपाच्य गीतहरुको बिगबिगी भइरहेको अवस्थामा केही फरक र परम्परागत शैलीमा यस्तो सन्देशमुलक गीतले समाजलाई समृद्धितर्फ अघि बढ्न केही मद्दत पुग्ने हामीले आशा लिएका छौं ।’ निर्माता शर्माले भने–‘अर्को कुरा तीजलाई सधैं हामीले नितान्त मनोरञ्जनमा मात्र सिमित नराखी कला र संस्कृतिको माध्यमबाट पनि समाज रुपान्तरणको कार्यमा केही योगदान दिन सकिने मान्यताबमोजिम यो गीतको निर्माण गरिएको हो ।’
भगवती शर्माको शब्द र लयमा केशव बडुको संगीत संयोजन रहेको यो गीतलाई नवराज सुवेदीले नृत्य निर्देशन गर्नुभएको छ । बर्दियाको बाँसगढीमा अवस्थित सिजी फुड्स, ऐचोपैचो सहकारी र बाँसगढी बजार क्षेत्रमा छायांकन गरिएको यो गीतलाई छायांकन र भिडियो सम्पादन रामु चौधरीले गर्नुभएको हो ।
यो गीत मार्फत वैदेशिक रोजगारमा मात्र भर नपरी स्वदेशमै पनि बिभिन्न माध्यमबाट धेरै काम गर्न सकिने सन्देश समेत दिन खोजिएको छ ।