नेकपा अध्यक्ष प्रचण्डले जनतामा कर तिर्ने संस्कार बसाउनुपर्ने बताए । उनले भने– ‘शिक्षा पनि निःशुल्क हुनुपर्याे, स्वास्थ्य पनि निःशुल्क हुनुपर्याे । बाटो पनि बन्नुपर्याे । तर, करचाहिँ मैले नतिर्न पाउनुपर्याे भन्ने जनताको तहमा भएको यो संस्कारगत कमजोरीलाई पनि हामीले शिक्षित त गर्नैपर्छ ।’
विकास र सामाजिक न्यायका लागि कर तिर्ने संस्कार आवश्यक रहेको प्रचण्डको भनाइ छ । ‘कर अलि बढी नै भयो भन्ने आएको छ, गाईजात्राहरु हेर्दा पनि त्यही करको कुरालाई देखाइएको छ । केही ठाउँमा त त्यस्तो भएको होला,’ प्रचण्डले भने, ‘तर कर तिर्नुपर्छ भन्ने बानी बसाउनु पनि आवश्यक छ ।
साँच्चै नै विकासलाई गति दिने हो भने जनताको तहमा प्रगतिशील कर प्रणाली बनाउनुपर्ने प्रचण्डको सुझाव छ । उनी भन्छन्– ‘कर नीति धनीलाई छुट दिने, गरीबलाई कस्नेखालको त हुन भएन, विकास र सामाजिक न्यायको निम्ति कर नीति प्रगतिशीलै हुनुपर्छ । तर, कर तिर्ने थिति त बसाउनैपर्छ । हरेकले कर तिर्नुपर्छ ।’
नीति र कानून सही बनाउने अनि लगानी र सुरक्षाको वातावरण बनाइदिने राज्यको दायित्व भएको बताउँदै प्रचण्ड भन्छन्, ‘तर, कर तिर्ने, राज्यलाई नछल्ने, जनतालाई नठग्ने दायित्व व्यवसायीको पनि त हो ।
विकसित देशका जनताले खुशीसाथ कर तिर्ने गरेको बताउँदै प्रचण्डले भने– ‘अरु देशमा हेर्याे भने त यति धेरै कर छ कि सिंगापुरमा, मलेसियामा, युरोपका देशहरुमा, अमेरिकामै गएर हेर्याे भने मान्छेले खुशीसित कर तिर्छन् ।’
कर तिर्दातिर्दा विकास धेरैपछि कतिपय देशमा सरकारले बिजुली इत्यादिको कर तिर्नु नपर्ने बनाइदिएको प्रचण्डले सुनाए । उनले भने–‘भोलि हामीले पनि त्यो परिस्थिति बनाउनुपर्छ । तर, अहिले त विकास निर्माणलाई अगाडि लैजानका लागि कर त तिर्नुपर्छ है भन्ने पाटोलाई पनि चर्चा गर्न जरुरी छ ।’
अहिले नेपाली समाजमा सामाजिक विचलन देखा परिरहेको र सिंगै सोसाइटी नै तल गिर्ने स्थिति आउन लागेको प्रचण्डको विश्लेषण छ । उनी भन्छन्– ‘सरकार भनेको त पाँच वर्ष पछाडि अर्को आउला । तर, सोसाइटी नै तल गिर्याे भनेदेखि उठाउन धेरै गाह्रो हुन्छ । यो पक्षतिर पत्रकार, बुद्धिजीवी र नागरिकहरुको ध्यान रहनुपर्याे भन्ने मेरो अनुरोध छ ।’