मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा न २ का अध्यक्ष हमालको प्रतिवद्धता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, भदौ २१ ः बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको सबै कार्यक्रमलाई निरन्तरता दिने वडा नम्बर २ ले जनाएको छ ।
    बाल संरक्षण र शिक्षाका लागि सहयात्रा परियोजनाले हालसम्म वडा नम्बर २ का बिद्यालय र समुदायस्तरमा गरेका सबै क्रियाक्लाप निकै सराहनीय तथा उपलब्धीमूलक रहेको ठहर गर्दै ती सबै क्रियाक्लापलाई निरन्तरता दिइने वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालले बताए ।
    बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयसम्म पुरयाउनुका साथै टिकाउन तथा शिक्षालाई गुणस्तर बनाउन र बाल संरक्षणका लागि बालमैत्री शासन लगायतका विभिन्न क्रियाक्लाप सहयात्रा परियोजनाले गरिरहेकोमा परियोजना सम्पन्न भएपनि ती सबै कामलाई वडा कार्यालयले निरन्तरता दिने उनले बताए ।
    वडा नम्बर २ लाई बालमैत्री वडा बनाउने अभियान अन्तर्गत घरबारीटोलस्थित आधारभूत बिद्यालयमा विहिबार बसेको बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष हमालले सहयात्रा परियोजना नरहेपनि परियोजनाले अघि सारेका सबै कामले निरन्तरता पाइरहने प्रतिवद्धता जनाए ।
    उनले आफ्नो वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत हालसम्म वडा बालमैत्री स्थानीय शासन समिति गठन गरिसक्नुका साथै बाल राहात कोष पनि स्थापना गरिसकेको बताए ।
    सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा शहरी गरिब बस्तीमा सहयात्रा परियोजना सञ्चालन गरिरहेकोमा आगामी डिसेम्बरबाट सो परियोजना समाप्त हुँदैछ ।
    वडा बाल संरक्षण समितिको पुनर्गठन
    बालमैत्री अभियानलाई तिव्र पार्ने उदेश्यले सो बैठकले वडा बालसंरक्षण समितिलाई जगदिश चन्द्र बाल्मिकीको संयोजकत्वमा पुनर्गठन गरेको छ । पुनर्गठन गरिएको ९ सदस्यीय समितिका सदस्यहरुमा वडा सदस्य राम कुमार वैश्य, गिता राना, नुरजहाँ राई, आरती परियार, ललिता उपाध्याय, गिता गौतम, विमला तिवारी र निलम ज्ञवाली रहेका छन् ।
    समितिमा आमन्त्रित सदस्यहरु पछि थप गरिने तथा सो क्रममा सबै क्षेत्रलाई समेटिने संयोजक बाल्मिकीले बताए ।
    पुनर्गठन गरिएको समितिले अब तिव्र गतिमा बाल संरक्षणका लागि काम गर्ने बिश्वास ब्यक्त गर्दै समितिलाई सबै प्रकारको सहयोग वडा कार्यालयले उपलब्ध गराउने वडा अध्यक्ष हमालले बताए ।
    बाल राहात कोषमा २५ हजार सहयोग
    जोखिममा परेका बालबालिकालाई आपातकालिन सहयोग गर्ने उदेश्यले वडामा स्थापना गरिएको बाल राहात कोषका लागि बाँके युनेस्को क्लबले २५ हजार रुपैयाँ सहयोग गरेको छ । सोही कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान र सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत विरेन्द्र थापाले संयुक्त रुपमा २५ हजारको चेक वडा नम्बर २ का अध्यक्ष हमाललाई हस्तान्तरण गरे ।
    चेक बुझ्दै अध्यक्ष हमालले वडाले पनि सो कोषमा केही रकम थप गरेर सञ्चालनमा ल्याउने बताए ।
    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रनिलसिंह हमालले सहयात्रा परियोजना मार्फत विद्यालयमा धेरै सुधार भएको तथा बालबालिकाको शैक्षिक गुणस्तर बढ्नुका साथै संरक्षणमा पनि निकै ठुलो सहयोग भैरहेको बताए ।
    सो अवसरमा विद्यालयका प्रधानाध्यापक ललिता उपाध्याय, वडा बाल संरक्षण समितिका संयोजक बाल्मिकी, सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष बर्मा, सामुदायीक परिचालन अधिकृत शंकर सिंह थारुले बाल संरक्षणका बारेमा आआफ्नो भनाई राखेका थिए ।
    सो बैठकमा वडा सदस्यहरु, वडा सचिव, बाल क्लबका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवा, अभिभावक, शिक्षक तथा बाँके युनेस्को क्लबका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • २१ भाद्र २०७५, बिहीबार १५:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित