स्वस्थ दिमागका लागि खाना’ संसारमै बहसको विषय हो र हुनुपर्छ । एक अध्ययनअनुसार दिमागलाई स्वस्थ राख्ने केही खानेकुराको सेवन गर्न आवश्यक देखिएको छ । तिनको सेवनले अल्जाइमर रोगबाट बचाउनुका साथै दिमाग तीक्ष्ण बनाउनसमेत मद्दत गर्छ । तर, कतिपय अवस्थामा उच्च गुणस्तरीय खानासमेत हानिकारक हुन सक्छ । निःसन्देह हामी हरेक दिन फरक र स्पाइसी खानेकुरा खान रुचाउछौँ । यद्यपि, यस्ता खानेकुराले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु-याइरहेको हुन्छ ।
सोडा, केक, कुकिज उच्च गुलियोयुक्त खानेकुरा मस्तिष्कका लागि घातक हुन्छन् । साथै, आटाजस्ता सरल अन्न समावेश गरेर बनाइएका प्रशोधित खाद्यपदार्थ पनि मानसिक स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । एन्टिअक्सिडेन्टयुक्त, भिटामिन, मिनरल आदिजन्य खानेकुराले मानसिक शक्ति बढाउन सहयोग गर्छन् । उदाहरणका लागि :
ओखर
ओखर मुटु र दिमाग दुवैका लागि राम्रो खाद्यपदार्थ मानिन्छ । सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छन् । ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड (यो ओमेडा फ्याटी एसिडको एक प्रकार हो) पाइन्छ । यसले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
साल्मोन माछा
साल्मोन माछा अर्को मानसिक शक्ति बढाउने वस्तु हो । साल्मोनमा आमेडा फ्याटी प्रचुर मात्रामा पाइन्छ । जसले दिमागका नसा–नसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछन् । त्यस्तै, यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट बचाउँछ ।
बेसार
हाम्रो शरीरमा रहेका न्युरोन्सहरू वयस्क हुँदै गएपछि नष्ट हुँदै जान्छन् । र, पुनः उत्पादन हुन्छन् । यस्तो प्रक्रियालाई न्युरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ । बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दर बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।
जामुन
जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन सेवन गर्दा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।
गोलभेँडा
गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्न तन्तुहरू सक्रिय हुन आवश्यक हुन्छ । गोलभेँडाले तन्तुहरूलाई सक्रिय गराउन मद्दत गर्छ । यसमा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले बडिगार्डको काम गर्छ ।
ब्रोकाउली
अध्ययनअनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्छन् । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।
स्याउ
स्याउ खाँदा दिमागमा रहेका न्युरोन्सहरूलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ । दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको कारणबाट हुने गर्दछ । जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने हुन्छ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।
प्याज
प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । जसले मस्तिष्कमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्छ । जो डिप्रेसनसँग जुधिरहेका मानिसका लागि झनै लाभदायी हुन्छ ।