नरैनापुर(बाँके), पुष १५ । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्ताहरुलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज (आइतबार) सहजकर्ताहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
चैत महिनाभित्र ३ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय जना सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । सहजकर्ता र कक्षा लिनेहरुलाई आवश्यक पर्ने किताब, कापी, कलम, बोर्ड, मार्कर लगायतका सामग्री हस्तान्तरण गरिएको अभियान सञ्चालन गरिरहेको संस्था ग्रामीण समाज उत्थान मञ्ज–रुसुफ नेपालका अध्यक्ष मुस्ताक अलि राईले बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले गाउँपालिकालाई औंठाछापबाट मुक्त बनाउन साक्षरता अभियान थालेको बताउँदै उत्साहका साथ कक्षामा सहभागी हुन गाउँपालिकाबासीलाई आग्रह गर्नुभयो । हरेक वडामा सञ्चालन हुने प्रत्येक कक्षाको अनुगमन गरिने भन्दै उहाँले परिणाम देखिने गरी काम गर्न सहजकर्ताहरुलाई निर्देशन दिनुभयो । नरैनापुरमा १२ हजार नागरिक निरक्षर रहेको बताइएको छ ।