महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि कोइराला नेतृत्वमा रहेको संस्थापनइतर समूहको बैठकमा आउने चर्चाबीच पार्टीका नेता तथा कार्यकर्ताहरू सचिवालयमा पुगेका थिए।
दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी छलफल सुरू भएको थियो। छलफलमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल देखिएनन्।
पौडेल मंगलबार बिहान ११:३० बजे चीन भ्रमणका लागि गएका थिए भने काठमाडौं उपत्यकाभित्रै रहेका महामन्त्री शर्मा बालुवाटारस्थित कोइरालाले राखेको बैठकमा गएनन्।
०७८ को १४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका अधिकांश बैठकमा थिए।
उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारसहित करिब २५ जना केन्द्रीय सदस्य कोइरालाले डाकेको बैठकमा उपस्थित थिए।
कांग्रेसले अनुशासन कारबाही फुकुवा गरेका चितवनका दिनेश कोइराला पनि बैठकमा उपस्थित थिए। कांग्रेसबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार हुन नपाएपछि कोइराला स्वतन्त्र उम्मेदवार बनेका थिए। पार्टी निर्देशन नमानेको भन्दै उनलाई कांग्रेसले कारबाही गरेको थियो।
उनलाई गत भदौ ३ गते केन्द्रीय अनुशासन समितिले कारबाही फुकुवाको पत्र दिएको छ। कोइराला असोज ४ गते दिउँसो १ बजे सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन्। कांग्रेसले कोइरालालाई पूर्ववत भूमिका (केन्द्रीय सदस्य) कै जिम्मेवारीमा फर्काएको छ। दिनेश पनि शेखरसँग निकट छन्।
कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएपछि प्राय: संस्थापनइतर समूहको बैठक बस्ने गर्छ। तर गत साउन २ गते केन्द्रीय समिति बैठक बस्दा त्यसअघि संस्थापनइतरका नेता शेखरले आफ्नो पक्षको बेग्लै बैठक राखेका थिएनन्। त्यसबेला कोइरालामाथि सभापति शेरबहादुर देउवासँग मिलेको आरोपसमेत लागेको थियो भने गुट बैठक नराखेर राम्रो सन्देश दिएको भन्दै देउवा पक्षका नेताहरूले प्रशंसासमेत गरेका थिए।
शेखरले भने सभापति देउवासँग मिलेको कुरालाई खण्डन गरेका थिए। यसपालि असोज ४ मा केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि कोइरालाले मंगलबार आफ्नो सचिवालयमा छलफल गरेका हुन्।
सरकारका कामकारबाहीका समीक्षादेखि केन्द्रीय समिति बैठक र कोइराला समूहका गतिविधिबारे बैठकमा समीक्षा भएको छ।
‘असोज ४ को केन्द्रीय समितिमा के-कस्ता एजेन्डा राख्ने भन्ने विषयमा कुराकानी भयो, समसामयिक राजनीतिक घटनाक्रमका विषय र पार्टीका आगामी कार्यदिशाबारे पनि छलफल भयो,’ बैठकपछि नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘सरकारका कामकारबाहीबारे पनि समीक्षा गरियो।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्।
बडूका अनुसार मंसिरमा हुने महासमिति बैठक तयारी र ०८२ मै १५ औं महाधिवेशन गर्नुपर्ने विषयका सन्दर्भमा पनि छलफल भएका छन्।
‘क्रियाशील सदस्यता वितरणदेखि सबै तयारी गर्नुपर्ने विषय पनि उठेका छन्,’ उनले भने, ‘केन्द्रीय समितिले पास गरेको वार्षिक कार्ययोजना कति कार्यान्वयन भए वा भएनन् त्यसको पनि समीक्षा हुनुपर्छ भन्ने कुराकानी भएको छ।’
उनले पार्टीलाई थप सशक्त र चलायमान बनाउनुपर्ने बताए। ‘भोलिका दिनमा कांग्रेसको एकल बहुमत आउने गरी पार्टीले काम गर्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि समयबद्ध काम गर्नुपर्छ भन्ने विषय साथीहरूले राख्नुभएको छ।’
अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले सरकारका गतिविधिबारे पनि समीक्षा गरिएको जानकारी दिए।
‘सरकारका कतिपय गतिविधिमा पनि हामीलाई चित्त बुझेको छैन,’ गौतमले भने, ‘यो सरकारले सुशासन दिओस्। भ्रष्टाचारलाई नियन्त्रण गरोस् र जनतामा देखिएको निराशालाई आशामा रूपान्तरण गरोस् भन्ने हो।’
कांग्रेस संस्थागत रूपले अघि बढ्नुपर्ने पनि उनले बताए। नेविसंघ र तरूण दलजस्ता भ्रातृ संस्था ‘जम्बो’ बनाइएको विषयमा पनि बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार अनुशासन कारबाही, निलम्बन विधि विधान र प्रक्रियाअनुसार हुनुपर्छ भन्ने विषय पनि उठेको छ।
‘भ्रातृ संस्था अध्यक्ष तोक्दा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी तीन जनाको नाम मागेर तीमध्येबाट गर्नुपर्नेमा एकलौटी भइरहेका छन् भन्ने विषय पनि उठ्यो,’ उनले भने। भ्रातृ संस्थाका अध्यक्षहरूले आफूनिकटलाई जिल्ला सभापतिसँग समन्वयबिनै अध्यक्ष तोकेको भन्दै आलोचना भइरहेको थियो।
साथै बैठकमा विभिन्न प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री थप गर्ने प्रवृत्ति देखिएको भन्दै रोक्न दवाव दिनुपर्ने कुरा पनि उठेको छ।
कांग्रेसले भ्रष्टाचारविरूद्ध अभियान नै रोकेको आरोपसमेत केही नेताहरूले उठान गरेका छन्। महामन्त्री गगन थापाले पार्टीले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका थिए। वार्षिक कार्यतालिकाअनुसार नै पार्टीका कामकारबाही अघि बढ्ने थापाको विश्वास थियो।
विश्वप्रकाश र प्रदीपको चर्चा:
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल अनुपस्थित भएको विषयले चर्चा पाएको थियो।
उपसभापति धनराज गुरूङले संस्थापनइतर समूहमा जोडिन चाहनेहरूलाई मौका दिनुपर्ने बताए। तर जबरजस्ती रूपमा कसैलाई समूहमा भित्र्याउन नहुने उनको भनाइ थियो।
‘दाम्लोले बाँधेर कसैलाई पनि ल्याउन हुँदैन, किनभने उनीहरू दाम्लो चुँडाएर भाग्छन्,’ गुरूङले बैठकमा भनेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘समूहलाई बलियो बनाउन सबै लाग्नुपर्छ, पार्टी नै बलियो बनाउन सबैको सहयोग आवश्यक छ।’
कानून मन्त्रीसमेत रहेका गुरूङले सरकारले सुशासनका पक्षमा काम गरिरहेको दाबी गरेका थिए। ‘कतिपय विषयमा पार्टीभित्रैबाट आवश्यक सहयोग पाइएको छैन,’ उनको भनाइ थियो।
केन्द्रीय सदस्य मधु आचार्यले महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेलसँग कुराकानी भइरहेको र समूहमा समेट्ने कोशिस भइरहेको बताए। ‘थप एक, दुई बसाई (बैठक) पछि उहाँहरू यस्ता छलफलमा आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।
अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले आफूहरू ठूलो छातीसहित अघि बढेको बताए। ‘सबैलाई हामी समेटेरै जाने हो, महामन्त्री के-कति कारणले आज आउन भ्याउनुभएन,’ उनले भने।
शेखरको जवाफ: विश्व र प्रदीपसँग कुरा भइरहेको छ
शेखरको जवाफ: विश्व र प्रदीपसँग कुरा भइरहेको छ
संस्थापनइतर समूहका नेता शेखर कोइरालाले महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेलसँग आफ्नो कुराकानी भइरहेको बताए।
‘प्रदीपजीले चीन जाने कार्यक्रम छ, अर्को पटकदेखि आउँछु भन्नुभएको छ,’ कोइरालाका भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘महामन्त्री विश्वप्रकाशजीसँग पनि कुरा भइरहेकै छ। आज उहाँ आउनुभएन, थप कुराकानी गर्छौं।’
शेखरले राखेको बैठक सुरू हुनुअघि के भनेका थिए विश्वप्रकाशले?
महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए।
कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको उनको भनाइ थियो।
‘समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं?, वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ,’ शर्माले भनेका छन्।
शर्माले आफू महासमिति बैठककै तयारीमा जुटेको बताएका छन्। ‘अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु,’ उनले भने।
दलहरूमा फरक विचार र समूह हुनु स्वभाविक रहेको उनले बताएका छन्।
शर्मा ०७८ मा भएको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भई महामन्त्री निर्वाचित भएका थिए। गत वर्ष पुस ६ गते भएको संसदीय दल चुनावमा भने शर्माले अर्का महामन्त्री गगन थापालाई साथ दिएका थिए।
शर्माले मंसिरमा हुने पार्टीको महासमिति बैठकले पार्टी पङ्तिमा ऊर्जा दिने बताएका छन्। साथै नागरिकमा देखा परेका वितृष्णा चिर्दै नवीन विश्वाससाथ अघि बढ्ने उनले बताए। ०८२ मा १५ औं महाधिवेशन हुने पनि शर्मा बताउँछन्। कांग्रेस विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन हुनुपर्छ।
कांग्रेसभित्र पनि विभिन्न विचार समूह रहे पनि सिंगो संस्थाले नै विभिन्न विषयमा सार्थक बहस र तार्किक निष्कर्ष दिनुपर्ने उनले बताएका छन्। साभार सेताेपाटीबाट