समाचार एजेन्सी । रूसकाे राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । आक्रमणमा ६० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । रुसी सञ्चारमाध्यमका अनुसार मस्को नजिकैको क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेको बेला आतङ्ककारीहरूले मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आतंककारीहरूले हलमा विस्फोटक पदार्थ पनि विस्फोट गराए र त्यहाँ आगो लगाइयो। आक्रमणपछि विशेष प्रहरी बलले नियन्त्रणमा लिएको छ । यसैबीच आतंकवादी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । IS ले सोसल मिडियामा एक पोस्ट सेयर गरेको छ ।समाचार एजेन्सी अनुसार तीनदेखि चार बन्दुकधारीले एकैसाथ मानिसमाथि गोली चलाउन थालेपछि कम्तीमा ४० जनाको मृत्यु भएको थियो। प्रहरी टोली मानिसहरुलाई उद्दार गरी घाइतेहरुलाई अस्पताल पुर्याउने काममा जुटेको छ । आपतकालीन सेवा मन्त्रालयले गोलीबारीपछि करिब १०० जना थिएटरको बेसमेन्टबाट भाग्न सफल भएको र अरू छतमा लुकेर बसेको बताएको छ। विज्ञप्तिमा भनिएको छ कि रक ब्यान्डका सबै सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए जसका कारण हलमा विष्फोट र ठूलो आगो लागेको थियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा भवनबाट ठूलो धुवाँ निस्किरहेको देखिन्छ । क्रोकस कन्सर्ट हलमा भएको गोलीकाण्डमा कम्तिमा ४० जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको मिडिया रिपोर्टले दाबी गरेको छ । रिपोर्टका अनुसार आतंकवादीहरूले सयौं मानिसलाई बन्धक पनि बनाएका छन्। तर, बन्धकहरुको अवस्था भने खुलाइएको छैन ।
रुसी विदेश मन्त्रालयले आतंकवादी हमला भएको जनाएको छ
रुसले गोलीबारीलाई आतंकवादी हमला भनेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले घटनाको निन्दा गर्दै यसलाई आतंकवादी हमला भनेकी छन् । उनले यस घृणित अपराधको अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्नुपर्ने बताए । मस्कोका मेयरले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। आक्रमणपछि मस्कोमा हुने सबै सार्वजनिक कार्यक्रम रद्द गरिएको उनले बताए । रुसी एजेन्सीहरूले मस्कोका विमानस्थल र रेलवे स्टेशनहरूमा सुरक्षा बढाएका छन्। यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोमा भएको आतंकवादी हमलालाई भयानक भनेका छन् । यद्यपी उनले उक्त आक्रमण युक्रेन युद्धसँग सम्बन्धित भएको तत्काल कुनै संकेत नभएको बताए ।
रिपोर्टहरूका अनुसार सुरक्षा बलको वर्दीमा कम्तीमा तीन बन्दुकधारीहरू कन्सर्ट हलमा प्रवेश गरे र भित्रका मानिसहरूमाथि गोली चलाउन थाले । जसका कारण धेरैको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । रुसी समाचार एजेन्सी टासले आक्रमणपछि भवनमा विस्फोट र आगो लागेको बताएको छ ।