काठमाडौ जेष्ठ १६ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।
अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए ।
‘उहाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ । प्रहरीले रिहा गरिसकेको जानकारी हामीलाई दिएको छ । सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृति सहितको पत्रका आधारमा धनुषा प्रहरीले ललितपुर प्रहरीलाई पत्र पठाएपछि हिरासतबाट छोडिएको हो,’ कर्णले भने ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा ल्याएको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।