मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बिपी स्मृति दिवस : को हुन् बिपी कोइराला ? (जीवनी)
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइँदैछ। नेपाली कांग्रेसले सोमबार विविध कार्यक्रमका साथ बिपी स्मृति दिवस मनाउँदैछ।

    बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो। जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए। उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए।

    नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे। २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए।

    बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन्। राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए। उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन्।

    बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ। भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो। उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो। त्यसपछि दलहरु सक्रिय हुन पाए।

    बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ। बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ। नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन्।

    वर्तमान अवस्थामा काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन। गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आउँछ।

    को हुन् बिपी कोइराला ?

    नेपालका २२ औं प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको जन्म १५ डिसेम्वर १९६० का दिन भारतको बनारसमा भएको थियो। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी नेपाली, हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, वि.सं. २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे।

    उनका पिता कृष्णप्रसाद कोइराला राजनीतिक पृष्ठभूमिका व्यक्ति थिए। त्यसैले सानैदेखि बिपीमा राजनीतिक छाप पर्दै गयो। बिपी राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई सन् १९८७ मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो। यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो।

    उनले सन् १९८९ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे। अध्ययन पूरा गरेपछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून पेशामा काम गरे। विद्यार्थी हुँदा पनि उनी राजनीतिमा नजीक थिए। सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यहाँबाट छुटेपछि उनले वि.सं. २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।

    वि.सं. २००४ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍याे। सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरू गरे। २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।

    वि.सं. २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे। उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो। बि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे। त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखियो।

    वि.सं. २०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो। वि.सं. २०३३ सालमा उनी नेपाल फर्के। तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राखियो। अन्तर्राष्ट्रिय दबाबका कारण १९३५ मा उनका विरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो। वि.सं. २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो। उनको मृत्यु वि.सं. २०३९ सालमा काठमाडौंमा भयो।

    के–के छन् साहित्यिक कृति ?

    प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्।

    उनको उपन्यास तीन घुम्तीमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमाको चित्रण गरिएको छ। एउटी नारीको तीनवटा छुट्टाछुट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णयमा आधारित उपन्यास हो। यी तीनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको सङ्घर्षको कथा हो तीन घुम्ती।

    उपन्यास सुम्निमा दुई भिन्न संस्कृतिको समन्वय, सम्मिस्रण गाथा हो। आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन्। तर, प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ। पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई बिर्सन खोजियो भने सुख शान्ति मिल्दैन। स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे।

    प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो। सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ।

    नरेन्द्र दाई एक मनोवैज्ञानिक उपन्यास हो। एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीबीचको कथा हो। नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकार साथ सेवा गरेको र दुवैको आ–आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्वीकारिएको छ। पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा।

    मोदि आइन् सानो आकारको तर महत्वपूर्ण उपन्यास हो। हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो। त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा मोदि आइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ। युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुपर्‍यो। त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी.को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना।

    हिटलर र यहुदी उपन्यास जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ। कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सिर्जना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ। हिटलरले गरेको नरसंहार र युद्ध भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ।

    बाबु, आमा र छोरा प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो। यसमा नाम अनुसार नै तीन पात्रहरुको सम्बन्धको चित्रण गरिएको छ। बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा – आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु। यस उपन्यासमा यी तीनवटै पात्रहरुको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ। प्रेमको त्रिकोणात्मकतासँगै यौन समस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा। तर, यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ।

    बिपीका कथाहरुमध्ये दोषी चश्मा सबैभन्दा प्रख्यात कथा मानिन्छ। दोषी चश्मामा बाहिरी वस्तु एउटै हुँदाहुँदै पनि मानिसको हेर्ने दृष्टिकोणले सत्यमाथि प्रभाव राख्ने तथ्यलाई काव्यिक रुपमा चित्रण गरिएको छ। समकालीन साहित्यमा दोषी चश्मा कथा मात्र नभएर एउटा विम्बकै रुपमा स्थापित भइसकेको छ। उनको अर्को कथा श्वेत भैरवीसमेत प्रकाशित छ। यसका साथै बिपीले राजनीति, धर्म–दर्शन, चिन्तन, लोकतान्त्रिक शासन प्रणाली लगायतका विषयमा सयौं लेख–रचना लेखेका छन्।

    बिपीका आफ्नो कथा र जेल जर्नल जीवनी प्रकाशित छन्। दुवै रचनामा प्रजातन्त्रप्रतिको बिपीको निष्ठा, चिन्तन, प्रजातन्त्र प्राप्तिको आत्न्दोलनका लागि गरेको कठोर साधना लगायतका विषय समेटिएका छन्। नेपालको प्रजातान्त्रिक आन्दोलनमा मात्र नभएर सम्पूर्ण राजनीतिक आन्दोलनमा बिपीलाई राजनेता मानिन्छ।

  • ६ श्रावण २०८१, आईतवार ०८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित