मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्तरीय सेवा प्रवाह गर्दै बाँकेको राप्तीसोनारी अस्पताल
  • मार्गरेखा संवाददाता

  • पार्वती कुमारी थारुलाई शरीर चिलाउने समस्या छ । उहाँलाई प्रेसर पनि छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा उपचारका लागि पुग्नुभएकी स्थानीय ४१ वर्षीया पार्वतीलाई घरछेउँमै अस्पताल हुँदा सहज भएको अनुभूति सुनाउँदै भन्नुहुन्छ–‘राप्तीसोनारी अस्पताल नभएको भए सायद चेकजाँचका लागि कोहलपुर या नेपालगञ्ज जानुपथ्र्यो ।

    ’ घर छेउँछाउँमा अस्पताल हुँदाको सहजता मीना थारुलाई पनि छ । तल्लो पेट दुख्ने र महिनावारी गडबडी समेत हुने समस्या झेल्दै आउनुभएकी उहाँ स्वास्थ्य परामर्शसँगै उपचार गर्न राप्तीसोनारी अस्पतालमा पुग्नुभयो । ‘अस्पतालमा डाक्टर नै बस्ने भएकाले धेरै सहज भएको छ उहाँले भन्नुभयो–‘समस्याबारे डाक्टरसँग परामर्श लिन्छु, यहीँको उपचारले ठिक भइहाले राम्रो भइहाल्यो । यदि डाक्टरसापले नेपालगञ्ज जानुपर्छ भने उत्तै (नेपालगञ्ज) जानुपर्ला ।

    ’ पार्वती र मीना मात्र हैन, पछिल्लो समय राप्तीसोनारी अस्पतालमा ओपिडी सेवा लिनेको संख्या बढ्दै गएको छ । अस्पतालले आफ्नो सेवा प्रवाहलाई स्तरीय बनाएसँगै सेवाप्रवाहमा गुणस्तरीता थपिएको अनुभूति स्थानीयले गर्न थालेका छन् ।

    राप्तीसोनारी गाउँपालिका–३ रिहारडाँडाका ३१ वर्षीय सन्तोष कुमार बर्माले सामान्य समस्या हुँदा नेपालगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । पेटको समस्या लिएर अस्पताल पुग्नुभएका उहाँले सामान्य रुघाखोकी, पेट दुख्ने, टाइफाइड, मौसमी ज्वरो जस्ता समस्याका लागि नेपालगञ्ज जानुपर्ने अवस्था अब नरहेको सुनाउनुभयो ।

    ‘स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि आत्तिएर नेपालगञ्ज जानुपर्ने अवस्था थियो,’ उहाँले भन्नुभयो–‘अस्पतालका डाक्टरहरु नै बस्न थालेपछि परामर्श लिएर मात्रै निर्णय लिने गरेको छु ।’

    सन्तोषको जस्तै भनाई छ संगीता थारुको पनि । राप्तीसोनारी अस्पतालको सेवा प्रवाह राम्रो भएकै कारण आफू उपचारको लागि अस्पताल आएको संगीताले बताउनुभयो । उहाँलाई रुघाखोकी र ज्वरो आएको छ ।

    इमरजेन्सी वार्डमा भेटिनुभएकी उहाँले छिटोछरितो पनि हुने र ल्याव तथा एक्सरे सेवा समेत हुन थालेपछि धेरै सहज भएको बताउनुभयो । ‘छिटोछरितो सेवा पाइने, नेपालगञ्ज आउन जान झन्झटबाट पनि मुक्त, पैसाको समेत बचत हुने भएपछि यो भन्दा सहज हाम्रो लागि अरु के हुन सक्छ ?’ उहाँले भन्नुभयो । राप्तीसोनारी अस्पतालमा मेडिकल अधिकृतबाट सेवा दिन थालिएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । हिजोआज दैनिक ४०–५० जना बिरामीहरु बहिरङ्ग (ओपिडी) सेवा लिन आउने गरेको अस्पतालका मेडिकल अधिकृत डा. राम साहले बताउनुभयो । उहाँका अनुसार सुगर, थाइरायड, टाइफाइड, ग्याष्ट्रिक, मौसमी रुघाखोकी, एलर्जी, छाला सम्वन्धि समस्या भएका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।

    ‘स्वभाविकरुपमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ,’ उहाँले भन्नुभयो–‘यहाँ आउने अधिकांश बिरामीमा सुगर, थाइराइड, दम, मौसमी प्रभाव समस्या देखिएका छन् ।’

    अस्पतालले ओपिडी सेवा, ल्याव, एक्सरे, भिडियो एक्सरे लगायतका सेवाहरु दिँदै आएको छ । त्यसैगरी चौविसै घण्टा इमरजेन्सी र डेलिभरी सेवा समेत प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।

    अस्पतालले दुई वटा ओपिडी सेवा दिने गरेको छ । पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर एउटा र अर्को पाँच वर्षमाथिका सवै उमेर समूहलाई लक्षित गरेर ओपिडी सेवा दिने गरिएको डा. साहले बताउनुभयो । उहाँका अनुसार अस्पतालसँग आफ्नै एम्वुलेन्स छ । जटिल खालका बिरामीलाई रिफर गर्ने गरिएको छ ।

    अस्पताल प्रमुख समेत रहनुभएका डा.साहले अस्पतालको सेवालाई थप स्तरीय बनाउने गरी काम भइरहेको सुनाउनुभयो । अस्पतालले तत्काल आँखा जाँच सेवा समेत संचालन गर्ने तयारी गरेको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आगामी महिनाभित्रै आँखा उपचार सेवालाई समेत अगाडि बढाउने तयारीमा अस्पताल रहेको उहाँको भनाई छ । उहाँले अस्पतालले आफ्नै फार्मेसी सेवा समेत सञ्चालनको तयारी गरेको बताउनुभयो ।

    चालू आर्थिक वर्षको हालसम्म ६ हजार बिरामीलाई सेवा दिइएको उहाँको भनाई छ । दुई जना मेडिकल अधिकृत, स्टाफ नर्स, अनमीसहित अस्पतालसँग २५ जना जनशक्ति छन् । ‘बिरामीको चापको आधारमा अहिलेलाई जनशक्ति पर्याप्त छ’ उहाँले भन्नुभयो–‘सेवाहरु थप विस्तार हुँदै गएपछि जनशक्ति थप्नुपर्ने अवस्था आउनसक्छ ।’

    राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पतालको स्तरबृद्धिका लागि पालिकाले पहल गर्दै आएको बताउनुभयो । राप्तीसोनारीका स्थानीयबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त पालिकाले हरसम्भव प्रयास गर्दै आएको उहाँको भनाई छ । पालिकाका अन्य वडामा रहेका स्वास्थ्य संस्थालाई समेत स्तरीय बनाउने योजनाका साथ पालिका लागिपरेको उहाँको भनाई छ ।

  • १२ श्रावण २०८१, शनिबार १८:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित