नेपालगन्ज साउन २५ ।आज साउन शुक्लपक्ष नागपञ्चमी पर्व । पश्चिम नेपालको तराईका जिल्लामा बसोबास गर्ने अवधी समुदायले नागपर्वलाई ‘गुडिया’ पर्वका रूपमा मनाउने गर्दछन् । यो पर्वलाई अवधी समुदायको मुख्य पर्वका रूपमा लिइन्छ । आजको दिन सो समुदायले घरपरिवार, आफन्त, टोल–छिमेक सबै मिलेर विशेष धुमधामका साथ पर्व मनाउँदछन् । गाउँ टोलका विशेषगरी अगुवा बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर मोटो लाइन बनाउने गर्दछन् । यसलाई गोबर चक्र भनिन्छ । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ । यसपछि दूध र चनाको घुघरी (भिजाएको काँचो चनाबाट बनाइएको परिकार) नाग देउता र गाउँ नजिकै रहेको थान देउतामा चढाइने गरिन्छ । योसँगै घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ । यस दिन सबैको घरमा खाने परिकारअन्तर्गत चनाको घुघरी बनाइने गरिन्छ । यसका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला यो पर्वको मुख्य परिकार हो । यो पर्वमा विवाहित छोरीलाई घुघरी पठाउने चलन पनि छ । घुघरीमा चना, चामल, भेली मिठाइँ र आवश्यक लत्ताकपडासहितको गठरी सामथ्र्यअनुसार भाइ वा बुबाले गठरी बाँधेर छोरीको घरमा लग्ने परम्परा रहेको वरिष्ठ अवधि साहित्यकार सच्चिदानन्द चौबेले जानकारी दिनुभयो । यस पर्वमा छोरी बोलाउने तथा लिन जाने गरिन्छ । गाउँघर, टोल समुदायमा पिङ (झुला) हाल्ने गरिन्छ । युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने चलन छ । साँझ सबै युवतीले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र युवाले लठ्ठीले गुडिया पिट्ने गरेको अवधी अगुवा पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार यस दिन सबैको घरमा मिठोमिठो खानेकुरा पकाइने गरिन्छ ।