नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमबार नेपाली कांग्रेस, चितवनले १११ औँ बिपी जयन्तीको अवसरमा भरतपुरमा आयोजना गरेको विशेष सम्मान कार्यक्रममा मन्तव्य राख्दै। तस्बिर : सनद अधिकारी/रासस
चितवन भदाै २४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।” महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो । उहाँले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताउनुभयो । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।